विराटनगर । नेकपा (एमाले)का केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाहीका लागि प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ।
शनिबार बिहान बसेको एमाले १ नं. प्रदेश कमिटीको पूर्ण बैठकले पार्टी हित विपरित गतिविधि गरेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिए। प्रसाई केन्द्रीय कमिटी सदस्य भएकाले प्रदेश कमिटीले कारबाही गर्न नमिलेकाले केन्द्रमा कारबाहीका लागि सिफारिस गरिएको गौतमले जानकारी दिए ।
केही समयदेखि एमालेको पार्टी नीति विरोधी गतिविधि गर्दै आएका प्रसाईलाई पार्टीबाट निष्कासन गर्नुपर्ने आवाज उठेपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको गौतमले जानकारी दिए । एमालेको नीति सिद्धान्त विपरीत केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनी विवादमा परेका हुन् ।
मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन्। उनले गत सोमबार काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ सुरु गरेका थिए।
प्रतिक्रिया