फिदिम । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्नुका साथै थप दुई जनालाई घाइते बनाएको घटनाका सम्लग्नलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । जिल्लाको तुम्बेवा गाउँपालिका–५ का ३५ वर्षीय असफल भनिने नरध्वोज कुरुम्बाङलाई प्रहरीले आज विहान ७ः४० बजे तुम्बेवा–५ पखेरेबाट नियन्त्रणमा लिएको हो ।
विहीवार बेलुकी श्रीमती, सासू र ससुराली घरका छिमेकीमाथि खुकुरी प्रहार गरी फरार रहेका कुरुम्बाङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक दिवश कुँवरको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो । घटनापछि आफ्नै गाउँघरमा लुकेको अवस्थामा उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाँचथर ल्याइएको प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिनुभयो ।
कुरुम्बाङले बिहीवार बेलुकी ८ बजे ससुराली घर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे पुगी घरायशी विवादका क्रममा श्रीमती गोमा फियाक, सासूआमा कान्छीमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठमाथि खुकुरी प्रहार गरेका थिए । गहिरो चोट लागेकी कुरुम्बाङकी श्रीमती ३५ वर्षीया गोमा फियाकको मृत्यु भएको छ भने घाइते भएका दुई जनाको झापामा उपचार भइरहेको छ । श्रीमानले निरन्तर कुटपीट गर्ने भएपछि माइतीमा बस्दै आएको गोमालाई नरध्वोजले ससुराली घर पुगी खुकुरी प्रहार गरेका थिए ।
मिक्लाजुङ–३ आरुबोटेमा ५ वर्षअघि पनि ज्वाइँले ससुराली घर पुगी निन्द्रामा रहेकाहरुमाथि खुकुरी चलाउँदा नौ जनाको मृत्यु भएको थियो भने अभियुक्तले झुण्डिएर आत्महत्या गरेका थिए ।
प्रतिक्रिया