काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बेथितीको चाङ सावित हुँदैछ । भातृ संगठनहरुको महाधिवेशन गर्न सदस्यता रसिद उपलब्ध गर्न नसकेको विषय कार्यसम्पादन समिति वैठकमा चर्को उठ्यो । पार्टीका उच्च नेताहरुले युवा र विद्यार्थीको महाधिवेशनको लागि निर्णय गर्नु पर्ने अवस्था आयो ।
यति मात्र हैन राप्रपानिकट युवा र विद्यार्थी संगठनको महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने जिम्मेवारीसहित तदर्थ समिति गठन गरेपनि दुई वर्ष वितिसक्दा समेत ती संगठनको महाधिवेशन हुने कुनै गुञ्जाइस छैन । बरु विभाग र विभिन्न जिम्मेवारी पाएका बुढा केन्द्रीय नेताहरुका लागि ती भातृ संगठनहरु चलखेल गर्ने र भाषण गर्ने मञ्च बनेको छ ।
यस्तै अवस्थाबीच आइतबार सम्पन्न कार्यसम्पादन समितिको वैठकमा रसिद उपलब्ध गराउन अध्यक्ष राजेन्द्र लिङ्देन र केन्द्रीय सचिवालयमाथि दबाव दिन कार्यसम्पादन समितिका सदस्यहरु बाध्य भए । ‘अधिवेशन गर्ने भनिएको छ तर रसिद उपल्ब्ध छैन, त्यसकारण हामी हस्तक्षेप गर्न बाध्य भयौं जो स्वभाविक कुरा भने होइन । पार्टीको लागि सुखद घटना होइन,’ कार्यसम्पादन समिति सदस्यले बताए ।
भातृ संगठनको विषयमा हस्तक्षेप गर्नु पर्दा एकातर्फ नेताहरुले नमज्जा महसुस गरे भने अर्कोतर्फ अध्यक्ष लिङ्देनको विदेश मोहबाट झस्किए । ‘देशको समस्या र विकसित राजनीतितर्फ अध्यक्षको कुनै चासो र चिन्ता थिएन । उहाँले पार्टी प्रवेश र विदेश भ्रमणको कुरा मात्र गर्नुभयो, त्यही एजेण्डामा मात्र जोड दिनुभयो । राजसंस्था, हिन्दू अधिराज्यको विषय र लक्ष्य विर्सनु भएछ, त्यसकारण हामी झस्कियौं,’ ती नेताले भने ।
लिङ्देनले महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुँदा ६ महिनाभित्र राजसंस्था र हिन्दू अधिराज्य पूनःस्थापना गर्ने र समान विचारधारा भएका सबै दल र समूहलाई एकीकृत गर्ने बताएका थिए । तर ती विषय टाईँ टाईँ फिस प्रमाणित भएको छ । तसर्थ यस विषयमा देशैभरी राप्रपाभित्र चर्को असन्तुष्टी छ ।
स्रोतका अनुसार, लिङ्देनको अध्यक्षतामा सम्पन्न वैठकमा राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राज्य, प्रदेश खारेजी विषय उठान गर्दा अध्यक्षले कुनै चासो नदेखाएको वैठकमा सहभागी एक नेताले भने ।
प्रतिक्रिया