पाँचथर, ३० भदौ । शैक्षिक गुणस्तर सुधारमा सघाउ पुर्याउने उद्देश्यले पाँचथरको हिलिहाङ–२ को गौतम परिवारले रु. पाँच लाख ५५ हजार ५५५ को अक्षयकोष स्थापना गरेको छ ।
हिलिहाङ–२ सिंहपुरमा रहेको सिंहपुर पशुपति माध्यमिक विद्यालयमा उक्त अक्षयकोष स्थापना गरिएको हो । विद्यालयको स्थापनादेखि सञ्चालनमा सहयोग गर्दै आउनुभएका स्थानीय वयोवृद्ध हरिप्रसाद गौतम र लीलादेवी गौतमको परिवारले आइतवार विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोषमा रहने रकम विद्यालयका प्रधानाध्यापक भीमकुमारी भण्डारी तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद हेम्ब्यालाई हस्तान्तरण गर्नुभयो ।
हरिप्रसाद र लीलादेवी संस्थापक रहनुभएको अक्षयकोषमा छोराबुहारीहरु जीवनप्रसाद र नारायणी गौतम, राजेन्द्रप्रसाद र पुण्यमाता गौतम, सूर्यप्रसाद र कौशिला गौतम, केशवप्रसाद र भीमकुमारी गौतम तथा भोला र गंगा गौतम एवं छोरीज्वाइ मैयादेवी र राधाकृष्ण भट्टराई संरक्षक रहनुभएको छ । गौतम परिवारले अक्षयकोष सञ्चालनका लागि कार्यविधि तयार पारी बैङ्क खातामार्फत उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाई वर्षेनि प्रोत्साहन दिने योजना बनाएको संरक्षक सूर्यप्रसाद गौतमले वताउनुभयो ।
तयार भइसकेको अक्षयकोष सञ्चालन कार्यविधिलाई सम्बन्धीत निकायहरुबाट कानूनी मान्यता दिई संरक्षकहरु एक जना तथा विद्यालयका एक जनाको दस्तखत रहने गरी संयुक्त खाता सञ्चालन गर्न लागिएको उहाँले वताउनुभयो ।
अक्षयकोषको ब्याजबाट उक्त विद्यालयको कक्षा १, २, ३, ४, ५, ६, ७ र ९ मा प्रथम स्थान हाँसिल गर्ने विद्यार्थी तथा विद्यालय र अभिभावकले छनौट गरेका एक जना शिक्षकलाई पुरस्कृत गर्ने ब्यवस्था गरिएको संरक्षक गौतमले वताउनुभयो ।
विद्यालयमा पूर्वाधारका धेरै संरचना निर्माण भइसकेकाले अव शैक्षिक गुणस्तर सुधारमा जोड दिनुपर्ने आवश्यकता देखेर आफूहरुले अक्षयकोष स्थापना गरेको पूर्व स्रोतब्यक्ति समेत रहनुभएका सूर्यप्रसादको भनाइ छ । गौतम परिवारले ८३ वर्षीय बावुआमा जिवित छँदै उहाँहरुका नाममा अक्षयकोष स्थापना गरी अक्षयकोष दीर्घकालीन रुपमा सञ्चालन गर्ने योजना बनाएका हुन् ।
“आफ्ना पूर्वजहरुका नाममा संरचना निर्माण गर्ने परम्परा रहेपनि त्यसको उपयोगिता कमजोर भएका कारण अक्षयकोष स्थापनाले समाजलाई हित हुने ठानेर अक्षयकोष स्थापना गरेका हौ”, संरक्षक सूर्यप्रसादले भन्नुभयो ।
अक्षयकोषका संरक्षकमध्ये सूर्यप्रसाद स्रोत ब्यक्ति हुँदै हाल याङवरक गाउँपालिकाको शिक्षा शाखामा कार्यरत हुनुहुन्छ भने केशवप्रसाद र भोला शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । केशवप्रसाद नेपाल शिक्षक महासंघ हिलिहाङ गाउँपालिकाको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । उहाँहरुका दाजुहरु समेत जीवनप्रसाद र राजेन्द्रप्रसाद समेत धार्मिक–आध्यात्मिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
सोही अवसरमा स्थानीय समाजसेवी ब्यक्तित्व हेलनप्रकाश न्यौपानेको स्मृतिका उहाँका श्रीमती गीतादेवी न्यौपानेको परिवारले उक्त विद्यालयमा अर्को अक्षयकोष स्थापना गर्नुभएको छ । गत वर्ष दिवङ्गत हुनुभएका न्यौपानेको स्मृतिमा परिवारजनले रु. एक लाख एक हजार १११ रकमको अक्षयकोष स्थापना गरेका हुन् ।
उक्त अक्षयकोषको संस्थापकमा उहाँका श्रीमती गीता न्यौपाने तथा संरक्षकमा छोरीहरु अदिती, आयुष्मा र दिती न्यौपाने तथा ज्वाइँ योगिनजंग खड्का रहनुभएको छ ।
विद्यालयमा विगतदेखि नै स–सानो रकमका अक्षयकोषहरु रहेको भएपनि गौतम र न्यौपाने परिवारले ठूलो धनराशी अक्षयकोषमा राखेर शैक्षिक गुणस्तर सुधार गर्न तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने प्रेरणा प्रदान गरेको प्रधानाध्यापक भीमकुमारी भण्डारीले वताउनुभयो ।
सो अवसरमा अक्षयकोष स्थापना गर्ने दुवै परिवारलाई विद्यालयले सम्मान गरेको थियो । हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईं, वडाध्यक्ष एवम् विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद हेम्ब्या, हिलिहाङ गाउँ कार्यपालिका सदस्य विष्णुकुमारी भट्टराई लगायतले अक्षयकोष संस्थापकहरुलाई सम्मान गर्नुभयो ।
अक्षयकोष स्थापना कार्यक्रममा साक्षीका रुपमा रहनुभएका हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले अक्षयकोषका संस्थापकहरुलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रको विकासमा स्थानीयवासी र सरोकारवाला जागरुक बन्नुपर्ने वताउनुभयो ।
सरकार र विद्यालय एक्लैले शिक्षा क्षेत्रको रुपान्तरणमा सबै काम गर्न नसक्ने भन्दै अध्यक्ष अधिकारीले गुणस्तरीय शिक्षाको खोजीमा बसाइँ सर्ने क्रम रोक्न पनि समुदाय स्तरबाटै शैक्षिक गुणस्तर सुधारमा विद्यालयलाई मद्दत र निगरानी गर्नु आवश्यक रहेको वताउनुभयो । करीव ४५० जना विद्यार्थी अध्ययरत यस विद्यालयमा सीमान्तकृत माझी समुदायका बालबालिका समेत अध्ययनरत रहेका छन् ।
विद्यालयको शिक्षक अभिभावक संघको पुनर्गठन तथा लेखा समिति गठनका लागि अभिभावक भेला समेत भएको उक्त कार्यक्रममा विब्यस अध्यक्ष हेम्ब्याको अध्यक्षता तथा शिक्षक गणेश खतिवडाको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया