Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
याङवरकको बहुउद्देश्यीय कबर्डहल सञ्चालनमा « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

याङवरकको बहुउद्देश्यीय कबर्डहल सञ्चालनमा

चिन्तन खबर

फिदिम । गाउँपालिका भित्रका ठूला पूर्वाधारलाई विकेन्द्रीत गर्ने उद्देश्यले पाँचथरको याङवरक गाउँपालिकाले वीच गाउँमा निर्माण गरेको बहुउद्देश्यीय कबर्डहलमा खेलकुदका गतिविधि सञ्चालन हुन थालेका छन् ।

याङवरक गाउँपालिकाले संघीय र कोशी प्रदेश सरकारसँगको लागत साझेदारीमा रु. ४ करोड ३५ लाखको लागतमा गाउँपालिकाको वडा नं. ५ याङसिबुङमा कबर्डहल निर्माण गरेको हो । तीन वर्षअघि निर्माण सुरु भई हालै सम्पन्न भएको उक्त कबर्डहलको संविधान दिवसको अवसर पारेर गाउँपालिकाले औपचारिक उद्घाटन गरेको छ ।

उद्घाटनपछि कबर्डहलमा खेलकुदका गतिविधि सञ्चालनमा आएका छन् । २०७८ साल चैत ५ गतेबाट निर्माण थालिएको कबर्डहलको निर्माण सम्पन्न भएपछि गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले (सुवास)ले उद्घाटन गर्नुभएको हो ।

खेलकुदका पूर्वाधार प्रायजसो बजार केन्द्रीत हुने गरेकामा छिमेकी मुलुक भारतसँग समेत सीमा जोडिने यस गाउँपालिकाले गाउँको वीचमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग नजिकै कबर्डहल निर्माण गरेको हो ।

गाउँपालिकाको केन्द्र थर्पु बजार तथा मेची राजमार्गमा पर्ने गाउँपालिकाको गणेशचोक बजारको वीचमा पर्ने याङसिबुङमा नवनिर्मित कबर्डहलमा ब्याडमिन्टन, भलिवल तथा मार्सलआर्टका तेक्वान्दो, कराँते, उस्सु, कबड्डी लगायत खेल सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले जानकारी दिनुभयो ।

तीन वटा कोर्टहरु रहेको उक्त कबर्डहलमा दुई तहको प्याराफिट, शौचालय, चमेनागृह, चेन्जिङ कोठा लगायतका संरचना निर्माण भएका छन् । यो कबर्डहल संरचनाका दृष्टिले जिल्लामै सबैभन्दा ब्यवस्थित रहेको उपाध्यक्ष मेन्याङ्बोको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमा ब्याडमिन्टनका खेलकुदको विकासमा नियमित प्रशिक्षणको ब्यवस्था गर्न कबर्डहल उपयोगी हुने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तेजबहादुर तुम्बापोले वताउनुभयो । संरचनाका कारण युवाहरु खेलकुदतर्फ आकर्षित हुँदा कुलतमा फस्ने सम्भावना कम हुने, खेलकुद तथा खेल पर्यटनको विकासमा मद्दत पुग्ने वताउँदै तुम्बापोले यहाँ निर्मित कबर्डहल जिल्लाकै नमूना भएको उल्लेख गर्नुभयो ।

याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले (सुवास)ले प्रदेश र संघीय सरकारले कबर्डहल निर्माणमा साझेदारी गरेकामा धन्यवाद दिँदै सो कार्यका लागि पहल गर्ने प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङलाई धन्यवाद दिनुभयो । उहाँले कबर्डहलको सदुपयोग तथा संरक्षणमा सहयोग गर्न स्थानीयवासी तथा खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

कबर्डहलका जग्गादाता तथा निर्माण ब्यवसायी तीलबिक्रम योङहाङले गाउँको वीचमा ठूलो लागतमा खेलकुद संरचना निर्माण गरेकामा खुशी ब्यक्त गर्नुभयो । उहाँले आफूहरुले जग्गा उपलब्ध गराउँदा खेलकुद र सामाजिक विकासमा ठूलो टेवा पुगेको वताउनुभयो ।

उक्त कबर्डहलका लागि आवश्यक पर्ने सात रोपनी जग्गा पृथीबहादुर योङहाङ, बमप्रसाद योङहाङ र चन्द्रकिशोर योङहाङको परिवारले निःशुल्क उपलब्ध गराएको वडाध्यक्ष टेकनाथ न्यौपानेले जानकारी दिनुभयो । कबर्डहल उद्घाटन कार्यक्रममा जग्गादाताहरुलाई गाउँपालिकाले सम्मान समेत गरेको छ ।

कार्यक्रमका वक्ताहरुले बहुउद्देश्यीय कबर्डहल निर्माणका लागि बजेट ब्यवस्थापनमा सहयोग र पहल गरेकामा पूर्वमन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङलाई धन्यवाद दिए । वक्ताहरुले सांसद् नेम्बाङको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

संविधान दिवस तथा कबर्डहल उद्घाटनको अवसर पारेर याङवरक गाउँपालिकाले विभिन्न छ विधामा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । जसअनुसार सिनियर पुरुष र महिला डबल, जुनियर पुरुष र महिला डबल, कर्मचारी डबल र भेट्रान्स डबल ब्याडमिन्टन प्रतियोगिता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिनुभयो । सबै विधामा गरी कूल ९७ वटा टोलीले प्रतिस्पर्धा गरिरहेको गाउँपालिकाले जनाएको छ ।