फिदिम । पाँचथरको सदमुकाम फिदिममा सञ्चालन हुँदै आएको गणेशमान सिंह सामुदायिक हस्पिटलले हाडजोर्नी सम्बन्धी शिविर आईतबारबाट सुरु गरेको छ ।
१० दिन सम्म चल्ने उक्त शिविरको उद्घाटन फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेले गर्नुभएको छ ।
उद्घाटन सत्रलाई संवोधन गर्दै नगरप्रमुख काफ्लेले विपन्न वर्गका लागि शिविरले राहत मिल्ने बताउनुभयो । खर्च अभावमा उपचार नपाएकाहरुले शिविरवाट लाभ लिन सहज हुने उल्लेख गर्दै नगरप्रमुख काफ्लेले कुनै सरकारी लगानी विना स्वास्थ्य क्षेत्रको महत्वपूर्ण कार्य सुरु गरेको भन्दै अस्पताल र स्वास्थ्यकर्मीहरुलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
१० दिनसम्म सञ्चालन हुने शिविरमा शरीरमा राखिएका स्टील, रड र प्लेट निकालिने अस्पतालका अध्यक्ष सन्तोष श्रेष्ठले बताउनुभयो ।
शिविरमा निशूल्क शल्यक्रिया सेवा उपलब्ध गराईने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उपचारका क्रममा लाग्ने औषधी र स्वास्थ्य परीक्षण वापतको न्युनतम शूल्क मात्र निर्धारण गरिएको उनले जानकारी दिए ।
शिविरमा वरिष्ठ हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर देउमान लिम्बू, वरिष्ठ एनेस्थेसियोलोजिष्ट डाक्टर गणेश वन र एमडीजीपी डाक्टर विनयकुमार शाहद्धारा विरामीको स्वास्थ्य परिक्षण तथा उपचार हुने शल्यक्रिया विभागका प्रमुख सागर ढुंगेलले बताउनुभयो ।
शिविरमा पाँचथर, तेह्रथुम र ताप्लेजुङका विरामीले सेवा लिने गरी नामावली संकलन भईरहेको अस्पतालका व्यवस्थापक उमेश राईले जानकारी दिनुभयो ।
खर्चको अभावमा शरीरमा स्टील, रड र प्लेट लिएर हिड्न बाध्य विरामीको अवस्थालाई मध्यनजर राख्दै शिविर सञ्चालन गरिएको डाक्टर देउमान लिम्बूले जानकारी दिनुभयो ।
प्रतिक्रिया