पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोलरक्षकको उत्कृष्ट प्रदर्शनमा तरुण गोल्डकपको उपाधि तुम्बेवालाई

चिन्तन खबर

फिदिम । नेपाल तरुण दल जिल्ला कार्यसमिति पाँचथरको आयोजनामा फिदिममा आयोजित सातौं तरुण गोल्डकप फुटवल प्रतियोगिताको उपाधि तुम्बेवा गाउँपालिकाले उचालेको छ ।

जिल्लाका आठ वटा स्थानीय तहहरु सहभागी पालिकास्तरीय प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा फिदिम नगरपालिकालाई १–० गोलअन्तरले पराजित गर्दै तुम्बेवाले उपाधि उचालेको हो । तुम्बेवाका लागि राजेश थापाले गरेको गोल नै विजयका लागि पर्‍याप्त बन्यो ।

सन्तोषजनक प्रदर्शनका बावजुत फिदिम नगरपालिका उपविजेतामा सिमित बन्न पुग्यो । तुम्बेवाका गोल रक्षक सनमान माङलाकले उत्कृष्ट प्रदर्शन गर्दा फिदिम गोल गर्न असफल रह्यो । नेपाल तरुण दल पाँचथरले तरुण दलको ७२औं स्थापना दिवसको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको विजेता तुम्बेवा गाउँपालिकाले रु. एक लाख एक सय ७२ तथा उपविजेता फिदिम नगरपालिकाले रु. ५१ हजार एक सय ७२ रकमसहित ट्रफी र मेडल प्राप्त गरेको आयोजक तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता तथा उपविजेतालाई नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, काँग्रेस पाँचथरका सभापति रुपनारायण जबेगू, काँग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङलगायत पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि तुम्बेवाका गोल रक्षक सनमान माङलाक नै घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा फिदिमका सुरेश गुरुङ, उत्कृष्ट डिफेन्डरमा फिदिमका सुबराज क्षेत्री, उत्कृष्ट मिडफिल्डरमा तुम्बेवाका सोम लिम्बू, उत्कृष्ट फरवार्डमा फिदिमका सुकराज राई र उदयमान खेलाडीमा फिदिमका आयुस राई पुरस्कृत भए । पुरस्कृत खेलाडीहरुले जनही रु. तीन हजार प्राप्त गरेका छन् ।