पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आचारसंहिता विपरित मन्त्रीको हैसियतमा चुनाव प्रचारमा आङ्बो, आफैँले जिताएका अध्यक्षलाई प्रश्नः अढाई वर्षमा के गर्नु भो ?

चिन्तन खबर

फिदिम । निर्वाचन आयोगले २०७८ मा जारी गरेको आचारसंहिताअनुसार नेपाल सरकार वा प्रदेश सरकार मन्त्री, स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेद्वारका पक्ष वा विपक्षमा प्रचार प्रसारमा सम्लग्न हुन वा प्रचार प्रसार गर्न पाइदैन । यस्तो जिम्मेवारीमा रहेका ब्यक्तिहरु आफैँ उम्मेद्वार भएका अवस्थामा भने सम्बन्धित क्षेत्रभित्र चुनाव प्रचार प्रसार गर्न मिल्छ ।

तर पाँचथरमा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई जिताउन प्रचारप्रसारका कार्यमा मन्त्रीकै हैसियतमा सहभागी भइरहनु भएको छ । निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद–३ (क)अनुसार प्रदेश सरकारको मन्त्री निर्वाचन प्रचार प्रसारमा सम्लग्न हुनु निर्वाचन आचारसंहिताको पालना नगर्नु हो ।

मन्त्री आङ्बो जिल्लाको फिदिम नगरपालिका तथा फाल्गुनन्द गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रका उम्मेद्वारलाई मत माग्न दुई दलका पक्षमा तथा नेकपा (एमाले)का उम्मेद्वारका विपक्षमा चुनावी अभियानमा सामेल भइरहनु भएको छ । यस क्रममा चुनावी कार्यक्रमका ब्यानरहरुमा आङ्बोलाई प्रदेश सरकारको मन्त्री भनि तस्वीर सहित सम्बोधन गरिएको छ ।

यस्तै सभाहरुमा उहाँलाई मन्त्रीकै हैसियतमा अतिथिका रुपमा आमन्त्रण गरी चुनाव प्रचारका सामग्री विमोचन गर्न, चुनावी सभा सम्मेलन उद्घाटन गर्न तथा सम्बोधन गर्न लगाइने गरिएको छ । बुधवार मात्रै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको फाक्तेपमा आयोजित चुनावी सभामा मन्त्री आङ्बोले काँग्रेस–माओवादी गठबन्धनको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्नुका साथै सभालाई सम्बोधन गर्नुभएको छ । मन्त्री आङ्बोले निर्वाचन आचारसंहिता विपरित यसअघि फिदिम नगरपालिका–९ लुम्फाबुङ, फिदिम नगरपालिका–८ रानीटार लगायत स्थानमा मन्त्रीकै हैसियतमा चुनावी सभालाई सम्बोधन गर्नुभएको छ ।

विगतका निर्वाचनमा मन्त्रीहरुले चुनावी प्रचारमा भाग लिन नपाउने ब्यवस्था निर्वाचन आचारसंहितामा थिएन । तर अहिले लागू आचारसंहिताले मन्त्री स्वयम् उम्मेद्वार भए प्रचारप्रसार गर्न पाउने तर आफू उम्मेद्वार नभए प्रचारप्रसार गर्न नपाउने ब्यवस्था गरेको छ ।

आफैँ आचारसंहिताको धज्जी उडाउनुभएका आङ्बोको रोचक प्रश्न पनि छ । अढाई वर्षअघि आफैँ खटिएर फाल्गुनन्द गाउँपालिकाको उपनिर्वाचनमा अध्यक्ष निर्वाचित गराएका बीरबहादुर कुरुम्बाङलाई आङ्बोले प्रश्न गरिरहनु भएको छ । तत्कालीन नेकपाको विभाजनपछि लामो समय कुनै पक्षमा नखुल्नु भएका कुरुम्बाङले फाल्गुनन्दको विकास र सुशासनमा सयौँ काम गरेको सामाजिक सञ्जालमा लेख्ने आङ्बोले बुधबार आयोजित कार्यक्रममा कुरुम्बाङमाथि हास्यास्पद प्रश्न गर्नुभएको छ, “चुनाव जितेर अढाई वर्षमा के काम गर्नु भयो ?”