काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज (बिहीबार) बस्दैछ। प्रतिनिधि सभाको बैठक अपराह्न १ः०० बजे तथा राष्ट्रिय सभाको बैठक १ः१५ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आगामी आर्थिक वर्ष २०८२\८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ। उक्त प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ।
साथै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२” संसद्मा पेस गर्ने कार्यक्रमसमेत कार्यसूचीमा राखिएको छ।
सभामा विषयगत समितिमा सदस्य हेरफेर सम्बन्धी जानकारी र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको विवरण सभामुख देवराज घिमिरेले जानकारी गराउने कार्यक्रम पनि रहेको छ।
तर, गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका कारण आजको बैठक कार्यसूचीमा प्रवेश गर्न सक्नेमा आशंका कायमै रहेको छ।
यसैबीच, राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८२\८३ को बजेटमाथिको छलफल आज जारी रहने संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया