पाँचथर । लोपोन्मुख वन्यजन्तु सालक संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले समुदायस्तरमा कार्यविधि निर्माणका लागि तयार गरिएको मस्यौदामाथि छलफल गरिएको छ । भेटिकल डाइभरसिटि फण्डको आयोजना तथा फिदिम नगरपालिकाको समन्वयमा भएको मस्यौदामाथिको छलफल कार्यक्रममा जनप्रतिनिधि, वन उपभोक्ता समूहका प्रतिनिधि, सरोकारवाला निकाय तथा संरक्षणकर्मीहरूको सहभागिता रहेको थियो ।
फिदिम नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा सालकको वर्तमान अवस्था, यसले सामना गरिरहेका चुनौतीहरू तथा संरक्षणका लागि समुदायको भूमिकाबारे छलफल गरिएको थियो । सहभागीहरूले शालक संरक्षणलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय आवश्यकताअनुसार कार्यविधि तयार गर्नुपर्नेमा जोड दिएका थिए । मस्यौदामा समेटिएका विभिन्न प्रावधानहरूबारे सुझाव संकलन गर्दै संरक्षण अभियानलाई व्यवस्थित गर्ने फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्लेले बताउनुभयो ।
सालकको अवैध चोरी–सिकारी तथा तस्करीको उच्च जोखिममा रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि समुदाय, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेश सचिव देवी न्यौपानेले जोड दिनुभयो । छलफलबाट प्राप्त सुझावहरूलाई समेटेर कार्यविधिलाई अन्तिम रूप दिइने र आगामी दिनमा समुदायको सक्रिय सहभागितामा शालक संरक्षणका कार्यक्रम सञ्चालन गरिने न्यौपानेकोे भनाइ छ ।








प्रतिक्रिया