फिदिम । पाँच दिनपछि स्थानीय तहको ऐतिहासिक दोश्रो निर्वाचन हुन लाग्दा पाँचथर चुनावी रौनकमय भएको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथर राष्ट्रिय स्तरमा परिचय बनाएका नेताहरुको प्रतिष्ठाको विषय बन्नाले विगतमा भन्दा चुनावी प्रतिस्पर्धा कडा र रोमाञ्चक बनेको छ ।
अघिल्लो सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेपछि नेकपा (एमाले)का नेता वसन्तकुमार नेम्वाङको राष्ट्रिय स्तरमा परिचय बनेको छ । जिल्लाको विकासमा महत्वपूर्ण योजना र कदमहरु अगाडि बढाएर धन्यवादको पात्र बन्नुभएका नेम्वाङ गत महाधिवेशनपछि एमालेको पाँचथर इन्चार्ज समेत बनेर अहिले आफ्नो दलका उम्मेद्वार विजयी गराउन अहोरात्र खटिनु भएको छ ।
नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट पाँचथरका नेता भीष्मराज आङदेम्बे सहमहामन्त्री बनेपछि जिल्लामा आफ्नो प्रभाव विस्तारका लागि उहाँ पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका नेम्वाङसँग पराजित आङदेम्बे आगामी निर्वाचनको तयारीस्वरुप स्थानीय तहको निर्वाचनमा विगतभन्दा बढी जिल्ला केन्द्रीत देखिनुहुन्छ ।
प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावती, राप्रपा नेपालका सहमहामन्त्री तेजकुमार कुरुम्बाङ लगायतको भूमिका समेत यहाँको चुनावी प्रतिस्पर्धामा महत्वपूर्ण हुने ठानिन्छ ।
दुई शीर्ष नेताहरुको प्रतिस्पर्धा र गत स्थानीय निर्वाचनमा एमाले र काँग्रेसवीचको रोमाञ्चक प्रतिस्पर्धाको अनुभवले यतिबेला पाँचथरमा कुन दलले के–कति स्थानमा विजय हाँसिल गर्ला भनेर घर–घर र टोल–टोलमा चर्चा भइरहेको छ । यति मात्रै होइन २०७६ सालमा एक गाउँपालिकाको अध्यक्ष र दुई वडाध्यक्षमा भएको निर्वाचनमा समेत मिश्रित परिणाम आएको पाँचथरमा यो निर्वाचन समेत उत्तिकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
यस्तो थियो प्रथम स्थानीय तह निर्वाचनको परिणाम
वि.सं. २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँचथरमा एमालेले तीन जना गाउँपालिका अध्यक्ष र पाँच जना गाउँपालिका उपाध्यक्ष सहित सर्वाधिक आठ पदमा विजय हाँसिल गरेको थियो । काँग्रेसले एक नगर प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक नगर उपप्रमुख र दुई गाउँपालिका उपाध्यक्ष सहित कूल सात पदमा विजय हाँसिल गरेको थियो । पाँचथरको एक गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको थियो ।
एमालेले जिल्लाको याङवरक, हिलिहाङ र कुम्मायक गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै तथा तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । काँग्रेसले फिदिम नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै, फालेलुङ र फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै तथा तुम्बेवा गाउँपालिकाको अध्यक्ष जितेको थियो । माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष जितेको थियो । उक्त निर्वाचनमा एमालेले सर्वाधिक २८, काँग्रेसले २२, माओवादी केन्द्रले ८, नेकपा (माले)ले एक तथा एक जना स्वतन्त्र वडाध्यक्ष निर्वाचित भएका थिए ।
तर निर्वाचित भएको दुई वर्ष नवित्दै पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ, फिदिम नगरपालिका–१ का वडाध्यक्ष हर्कबहादुर मोक्तान र हिलिहाङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको निधन भयो । रिक्त स्थानमा भएको उपनिर्वाचनमा काँग्रेसले जितेका फाल्गुनन्दको अध्यक्ष र फिदिम–१ को वडाध्यक्ष तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जित्यो । एमालेले जितेको हिलिहाङ–७ को वडाध्यक्ष काँग्रेसले जितेर मिश्रित परिणाम निकाल्यो । नेकपाबाट विजयी दुवैजना नेकपाको विघटनपनि एमालेमा हुनुहुन्छ ।
अहिले नयाँ मतदाता निर्णायक
विगतमा रोमाञ्चक प्रतिस्पर्धा भएको पाँचथरमा अहिले सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सबै स्थानीय तहमा गठबन्धन गरेका छन् । यो गठबन्धनमा एक स्थानीय तहमा जनता समाजवादी पार्टी पनि सामेल छ । पाँचथरका पाँच स्थानीय तहमा नेकपा (एमाले)सँग जसपा सहित राप्रपा र राप्रपा नेपालवीच तालमेल भएको छ । अहिले धेरैले निर्वाचन परिणामको आँकलन पनि गरिरहेका छन् । तर यस पटकको निर्वाचन परिणाममा नयाँ मतदाता निर्णायक देखिएका छन् ।
अघिल्लो निर्वाचनमा पाँचथरमा ५६ हजार ८८३ जना महिला र ५९ हजार ७५९ पुरुष गरी १ लाख १६ हजार ६४२ मतदाता थिए । उक्त निर्वाचनमा फिदिमको नगर प्रमुखमा सर्वाधिक करीब १ हजार ४०० मतान्तर थियो । तर आसन्न निर्वाचनमा गत निर्वाचनभन्दा २३ हजार ५८२ जना बढी मतदाता छन् । अहिले ७३ हजार ५७६ जना पुरुष र ६६ हजार ६४८ जना महिला गरी १ लाख ४० हजार २२४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क छ ।
मतदान गर्ने उमेर पुगेर थप भएका, विगतमा वैदेशिक रोजगारी तथा अन्य कामले जिल्ला बाहिर रहेका कतिपय मतदाता अहिले थप भएका छन् । यी मतदाताको मत नै अधिकांश स्थानीय तहको मत परिणाममा निर्णायक हुने देखिएको छ । थप भएकामध्ये अधिकांश मतदाता मतदानमा सहभागी हुने जानकारहरुको अनुमान छ ।
प्रतिक्रिया