Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा

चिन्तन खबर

खोटाङ । खोटाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । १० स्थानीय तह रहेको जिल्लामा एक हजार ३० निजामती कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गर्दै एक हजार नेपाली सेना, ३०० सशस्त्र प्रहरी र ७०० जनपथ प्रहरी तथा एक हजार ८७ म्यादी प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १३६ मतदानस्थल र १९४ वटा मतदान केन्द्र निर्धारण गरिएकामा ३५ वटा अतिसंवेदनशील, ५८ संवेदनशील र ४३ वटा मतदान केन्द्र सामान्यमा राखिएको छ ।

सुरक्षा संयन्त्रको पहुँच, विगतमा भएका घटना र भौगोलिक विकटताको आधारमा जिल्लामा तीन समूहमा वर्गीकरण गरी शान्ति–सुरक्षाको व्यवस्था मिलाइएको दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आसन्न स्थानीय तहको निर्वाचनलाई धाँधलीरहित तथा मर्यादित बनाउन निर्वाचनमा भाग लिएका जल्लास्थित सबै राजनीतिक दलले प्रतिबद्धतासमेत जनाएका छन् ।

मतदानस्थल तथा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितका कर्मचारीलाई आवश्यक निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पठाइएको जिल्ला निर्वाचन कार्यालय खोटाङका कार्यालय प्रमुख राजेश गौतमले जानकारी दिनुभयो । “मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी तालिम दिएर तोकिएको कार्य क्षेत्रमा पठाइएको छ”, उहाँले भन्नुभयो, “वैशाख ३० गते हुने निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा गरेका छौँ ।”

निर्वाचन सफल पार्न जिल्लास्थित क्रियाशील राजनीतिक दललाई अमर्यादित गतिविधि नगर्न अनुरोध गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मात्रिकाप्रसाद आचार्यले बताउनुभयो । “यसअघि केही ठाउँमा निर्वाचन आचासंहिताविपरीत गतिविधि भएको पाएका थियौँ”, उहाँले भन्नुभयो, “जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रमुखलाई कार्यालयमा बोलाएर अनुरोध गरेपछि निर्वाचन आचारसंहिता विपरीत टाँगिएका तुल÷ब्यानर हटाइएको छ ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुबीच चुनावी तालमेल भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ । सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी  र जनता समाजवादी पार्टी नेपालबीच छ वटा स्थानीय तहमा पूर्ण र चार वटामा आंशिक तालमेल भएको छ ।

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका १० स्थानीय तहमा एक लाख ४३ हजार ७५२ ले मतदान गर्न पाउने भएका छन् । महिला ६८ हजार ७४६ र पुरुष ७५ हजार ६०० जना मतदाताले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।

देशभर एकैसाथ गर्न लागिएको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा क्रियाशील राजनीतिक दलका नेता जनताको घरदैलोमा भोट माग्न व्यस्त छन् । सत्ता गठबन्धन चार राजनीतिक दलले चुनावी तालमेल भएका स्थानीय तहमा दलले संयुक्त घोषणपत्र जारी गरेर जनताको घरदैलोमा भोट मागिरहेका छन् ।

चुनावी तालमेल गरेका चार राजनीतिक दलले जिल्लाका दशवटै स्थानीय तहमा आफूहरुको जीत सुश्चित रहेको दाबी गर्दै आएका छन् भने एमालेले गठबन्धन दलभित्रको मतभेदका कारण अधिकांश स्थानीय तहमा आफूहरुको जीत हुने दावी गर्दै आएका छन् । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमाले पाँच, कांग्रेस चार तथा माओवादी केन्द्रले एक स्थानीय तहमा विजयी हासिल गरेका थिए ।