चितवन । धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई कारवाहीको माग गरिएको छ ।
नेपाली कांग्रेस चितवन, नेपाली कांग्रेस भरतपुर महानगर समिति, नेपाली कांग्रेस प्रदेश क्षेत्र कार्यसमिति, नेपाल दलित सङ्घ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुणदलले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा निर्वाचनको प्रचारप्रसारमा खटिएका युवामाथि भएको आक्रमण र हत्याको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “निर्वाचनको प्रचारको सिलसिलामा खटिएका युवामाथि सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरी निर्मम तरिकाले हत्या भएको घटनाप्रति नेपाली कांग्रेस स्तब्ध एवं मर्माहत भएको छ ।”
उक्त घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा सजाय गर्न सम्बन्धित निकायलाई माग गर्दछौँ विज्ञप्तिमा उल्लेख छ । भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी परियारको हत्या गरिएको थियो । आइतबार साँझ ८ बजे भरतपुर–७ कृष्णपुरको नगर प्लटिङ्गमा अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय परियारको मृत्यु भएको हो । परियारको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । यसैबीच घटनाको दोषिलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै भरतपुरमा एक घण्टा चक्का जामसमेत गरिएको छ ।
प्रतिक्रिया