रुपन्देही । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा ‘जुनमाया’को अपहरणपछि हत्या भएको छ ।
वैशाख १९ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेपछि भएको थियो । झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए । घरदैलोका क्रममा भएको भिडन्तपछि जुनमायालाई गायब बनाइएको थियो । अपहरणपछि खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको थियो ।
शव भेटिएपछि स्थानीय पार्टी तथा प्रहरीको समन्वयमा जुनमायाको पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । मृतकका भाइ धनबहादुर बुढा, नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढा, एक प्रहरी हवल्दारले एम्बुलेन्समा उनको शवलाई बुटवल ल्याएका हुन् ।
एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले माओवादीले अपहरण गरी हत्या गरेका आफ्ना कार्यकर्ताको पोष्टमार्टम बुटवलमा भइरहेको बताए । रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ । सो गाउँपालिका कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढा पक्राउ परेका हुन् ।
सो घटनाका प्रत्यक्षदर्शी नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढाले गठबन्धनमा रहेको कार्यक्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेको र अपहरण गरी हत्या गरेर जघन्य अपराध गरेको बताए । उनले घटनाको वास्तविकताका लागि आफैले शव पोष्टमार्टम गर्न बुटवल ल्याएको बताए ।
मृतकका भाइ धनकुमार बुढाले आफ्नो दिदीको हत्या माओवादीकै कार्यकर्ताले गरेको भएपनि प्रहरीले छानबिनका लागि वास्ता नगरेको भन्दै यथार्थ विवरण बाहिर ल्याउन आग्रह गरे । मृतकको कानबाट रगत बगेको, शरिभर निलडाम रहेका कारण कुटपिटबाट नै हत्या गरेको देखिने एमाले नेता न्यौपानेले बताए । (नेपालप्रेसबाट)
प्रतिक्रिया