फिदिम । स्थानीय तहको निर्वाचनमा मतदान गराउन पाँचथरका १७६ निर्वाचन केन्द्रका लागि ८७७ कर्मचारी खटिएका छन् ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीहरु, सहयोगीहरु गरी सो सङ्ख्यामा कर्मचारी मतदानका लागि खटिएका हुन् ।
कूल एक लाख ४० हजार २२४ जना मतदाता रहेको पाँचथरमा १०१ मतदान स्थलमा १७६ मतदान केन्द्र रहेका छन् । पाँचथरमा ३११ पदका लागि ९०६ जना उम्मेद्वार चुनावी मैदानमा छन् ।
पाँचथरमा निर्वाचित हुने कूल पद ३१६ भएपनि पाँच जना दलित महिला वडा सदस्यमा एकल उम्मेद्वारी परेकाले सो पदमा निर्वाचन नहुने भएको छ ।
मतदानका लागि सबै सामग्री मतदान स्थलमा पु¥याइनुका साथै मतदान ब्यवस्थापनको कार्य समेत सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आठ स्थानीय तह र ६० वटा वडाको पाँचथरमा १७६ जना मतदान अधिकृतमध्ये मध्ये १० जना मतदान अधिकृत र ३० जना सहायक अधिकृत महिला रहेका छन् ।
मुख्य निर्वाचन अधिकृत योगेन्द्रकुमार शाहका अनुसार फिदिम नगरपालिका वडा नं. ४ को सुखबोध माध्यमिक विद्यालय जोरसाल मतदान केन्द्रमा भने सबै महिला मात्र खटिएका छन् ।
उक्त केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी सबै महिला रहेका छन् । १ लाख ४० हजार २ सय २४ जना मतदाता रहेको पाँचथरमा ६६ हजार ६ सय ४८ जना महिला मतदाता छन् ।
प्रतिक्रिया