भावना लिङदेन
फिदिम, २ जेठ
पाँचथर जिल्लामा विहान १० बजेसम्मको तथ्यांकमा ८ वटा स्थानीय तहमध्ये एउटा गाउँपालिका र ६० वटा वडामध्ये ३६ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक भएको मतपरिणामले अधिकांश स्थानीय तहमा नागरिकले अघिल्लो निर्वाचनमा विजय हाँसिल गरेका दल तथा जनप्रतिनिधिको विकल्प खोजेको पाइएको छ ।
नेकपा (एमाले)को बलियो पकड रहेको कुम्मायक गाउँपालिकाको अब नेपाली काँग्रेसले नेतृत्व गर्ने छ । आइतवार सार्वजनिक भएको मतपरिणामअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । कुम्मायक गाउँपालिकाको अध्यक्षमा काँग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रमा महेन्द्रबहादुर खड्का विजयी भएका हुन् ।
अध्यक्ष पदमा लावतीले एमालेका भीमप्रसाद सम्बाहाम्फेलाई १५७ मत तथा उपाध्यक्षमा खड्काले एमालेकै सीता आचार्यलाई ३४ मतले पराजित गरेका हुन् । गाउँपालिका अध्यक्षमा लावतीले ३०५७ मत प्राप्त गर्दा एमालेका सम्बाहाम्फेले २९०० मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा खड्काले २७५८ मत प्राप्त गर्दा आचार्यले २७२४ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा एमालेका जयबहादुर चेम्जोङले अहिले गाउँपालिका अध्यक्ष निर्वाचित काँग्रेसका लावतीलाई १२ सय २३ मतले पराजित गरेका थिए ।
कुम्मायकका अघिल्लो निर्वाचनमा वडा नं. १ मा स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार लावती ५०७ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा लावती जनता समाजवादी पार्टीमा प्रवेश गरी सोही पार्टीबाट वडाध्यक्ष बनेका छन् । वडा नं. २ मा बालकृष्ण शेर्मा एमालेबाट ७०१ मतका साथ वडाध्यक्षमा विजयी भएका थिए, अहिले शेमा एकीकृत समाजवादीबाट उम्मेदवार भई गठबन्धनबाट विजयी भएका छन् ।
यस्तै तुम्बेवा गाउँपालिकाको वडा नं. १ मा यसअघिको निर्वाचनमा मोतीराज तामाङ एमालेबाट ३२५ मतका साथ निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा धनबहादुर कार्की माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । वडा नं. ३ मा यसअघि कमल थापा एमालेबाट ४१५ मतका साथ विजय भएका थिए भने यस पटकको निर्वाचनमा काङग्रेसबाट नरध्वोज लावती निर्वाचित भएका छन् ।
फालेलुङ गाउँपालिकाको वडा नं. १ मा यसअघि श्री प्रसाद जवेगू एमालेबाट ५०० मतका साथ विजय भएका थिए भने २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार टेकबहादुर गुरागाँई निर्वाचित भएका छन् । वडा नं. ६ मा सुजाता बान्तवा राई एमालेबाट ३८६ मतका साथ विजय बनेकी थिइन भने २०७९ को निर्वाचनमा काँग्रेसका अमरवीर राई वडाध्यक्ष विजयी भएका छन् ।
यता फाल्गुनन्द गाउँपालिकाको वडा नं. ४ मा यसअघि वडाध्यक्षमा एमालेबाट मनवहादुर चेम्जोङ ६०६ मतका साथ निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा दलबहादुर नेम्बाङ माओवादी केन्द्रबाट विजय भएका छन् । फाल्गुनन्द ५ मा को वडाध्यक्षमा यसअघि अविन्द्रप्रसाद चेम्जोङ नेपाली कााँग्रेसबाट ५६७ मतका साथ निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा विष्णुप्रसाद चेम्जोङ एमालेबाट निर्वाचित भएका छन् ।
जिल्लामा एकमात्र नगरपालिका रहेको फिदिम नगरपालिकाको वडा न १ मा यसअघि हर्कबहादुर मोक्तान नेपाली काँग्रेसबाट ७७४ मतका साथ निर्वाचित भएका थिए भने उनको निधनपश्चात् उपनिर्वाचनमा एमालेका गजाधर भट्टराई निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पनि भट्टराई नै विजयी बनेका छन् । वडा नं. २ मा यसअघि कांग्रेसबाट वडाध्यक्षमा सुकपाल तुम्वापो ५५७ मतका साथ निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा एमालेका दीननाथ अधिकारी विजयी भएका छन् ।
वडा नं. १२ मा यसअघि माओवादी केन्द्रका प्रेमनारायण आचार्य ४०५ का साथ विजयी भएका थिए भने २०७९ को निर्वाचनमा एमालेका कमल चापागाँई निर्वाचित भएका छन् । वडा नं. १४ मा यसअघि एमालेबाट हेम बहादुर फागो ४१४ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले यस स्थानमा माओवादी केन्द्रका राजकुमार नेम्बाङले वडाको जिम्मेवारी पाएका छन् ।
मिक्लाजुङ गाउँपालिकाको वडा नं. १ मा यसअघि वडाध्यक्षमा माओवादी केन्द्रका विष्णुकुमार राई ४२१ मतका साथ विजय भएका थिए भने अब अहिले स्वतन्त्र उम्मेदवार घनेन्द्र आङदेम्बे विजयी भएका छन् ।
यता हिलिहाङ गाउँपालिकामा भने अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले क्लिन स्वीप गरेको थियो । तर २०७९ को निर्वाचनमा भने एमालेबाट विजयी भएका ठाउँ वडा नं. १ मा काँग्रेसका सन्तोष लिङदेन, वडा नं. ४ मा एकीकृत समाजवादीका वृहस्पति गिरी र वडा नं. ६ मा गणेश योङहाङ निर्वाचित भएका छन् । पाँचथरमा ७ वटा स्थानीय तहको मतगणना जारी रहेको छ वडाहरुको परिणाम क्रमशः आइरहेको छ ।
प्रतिक्रिया