पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाथीभरामा ‘पोर्टेबल’ शौचालय

चिन्तन खबर

ताप्लेजुङ । ३ हजार ७ सय ९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शनका लागि पुगेका तीर्थयात्रीको गुनासो हुन्छ ‘शौचालय भएन ।’ यसैसाता मात्रै नयाँ अभ्यास थालिएको छ । पाँच–छ मिटरको खाल्टा खन्ने, त्यसमाथि छपनी लगाएर पुर्ने र त्यसको माथि तयारी शौचालय उभ्याउने । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार यो पोर्टेबल शौचालय हो ।

आवश्यकताअनुसार ठाउँ परिवर्तन गर्न सकिन्छ । पर्याप्त पानीको व्यवस्थापन हुन नसकेकोमा यहाँ यस्तो शौचालयमा शौच गर्ने ठाउँ मात्रै सफा गरे हुन्छ । धर्मशालाहरूको छानाबाट पानी संकलन गरिन्छ । तराई र शहरी क्षेत्रबाट आएका बालबालिका बाहिर सौच गर्न नमान्ने हुनाले यस्तो शौचालय निर्माण गरेको समितिका अध्यक्ष रक्की थेवे बताउँछन् ।

मन्दिर परिसर बाहिर अहिले तीन शौचालय निर्माण गरिएको छ । माथिल्लो फेदीदेखि मन्दिरसम्मको अढाई किलोमीटरमा पाँच वटा शौचालय जडानको काम भइरहेको छ । फाइबरबाट बनेको पोर्टेबल शौचालय एनएमबी बैंकले उपलब्ध गराएको हो । जडान खर्च पाथीभराका भक्तजन काठमाडौं बानेश्वर–१० का रञ्जना पाठकले ब्यहोरेको काफ्ले बताउँछन् ।

निर्देशक काफ्लेका अनुसार एउटाको लागत ७५ हजार रुपैयाँसम्म पर्ने अनुमान छ । मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरेका अनुसार यसअघि पक्की तथा अस्थायी शौचालय बनाइएका थिए । पानी नहुँदा फोहोर हुने भएकाले ती शौचालय टिकाउन नसकिएको बताए । (इकान्तिपुरबाट)