Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कस्तुरीको बिना प्रकरणः जग्गा विवादको बदला लिन प्रहरीको प्रयोग गरेर पाँचथरका लिम्बूलाई फसाउने षड्यन्त्र ! « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कस्तुरीको बिना प्रकरणः जग्गा विवादको बदला लिन प्रहरीको प्रयोग गरेर पाँचथरका लिम्बूलाई फसाउने षड्यन्त्र !

विपुल अधिकारी

काठमाडौं । कस्तुरीको बिना प्रकरणमा प्रहरीकै सहयोग लिएर निर्दोषलाई फसाउन खोजेको अनुसन्धानबाट खुलेको छ। निर्दोष व्यक्तिको मोटरसाइकलमा कस्तुरीको बिना राखेर फसाउन खोजेको भन्ने विषय सार्वजनिक भएपछि गठन गरिएको छानबिन समितिले निर्दोषलाई फसाउने षड्यन्त्र देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी दिलीप घिमिरे, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी कृष्ण चन्द र प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला सम्मिलित छानबिन समितिले बुझाएको प्रतिवेदनमा निर्दोष व्यक्तिलाई फसाउन षड्यन्त्र गरिएको निष्कर्ष निकालेको हो। पाँचथर तुम्बेवा गाउँपालिका–५ घर भइ काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बूलाई फसाउने उनकै साथीहरुले योजनाबद्ध रुपमा लिम्बूको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलको सिट मुनि बिना राखेको निष्कर्ष निकालेको छ।

गत असार २३ गते साँझ साढे ६ बजेको समयमा काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित शान्ति गोरेटोतर्फ जाने सडकमा रोकेर राखेको शिव लिम्बूको बुलेट मोटरसाइकलको सिट मुनिबाट प्रहरीले रातो रंगको झोलाभित्रबाट कस्तुरीको बिनाजस्तो सामान बरामद गरेको थियो। उक्त सामान बरामद भएको सामाचार प्रहरीको केन्द्रीय बुलेटिनमार्फत् समेत सार्वजनिक गरिएको थियो। चाबहिलस्थित सडकबाट कस्तुरीको बिनासहित पाँचथर तुम्बेवा गाउँपालिका–५ घर भइ हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बूलाई पक्राउ गरिएको विषय प्रहरी प्रधान कार्यालयको केन्द्रीय ‘समाचार कक्ष’ले सम्प्रेषण गरेको थियो।

लिम्बूको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाइ राखेको सूचना आएपछि बिनासहित उनलाई पक्राउ गरिएको भन्दै प्रहरीले घटना सार्वजनिक गरेको थियो। उक्त विषय सार्वजनिक भएपछि लिम्बूका आफन्तले उनी त्यस्तो मान्छे नभएको भन्दै त्यस ठाउँको सीसीटीभी फुटेज हेरेपछि घटनाले नयाँ रुप लिएको थियो।

चाबहिल सडक खण्डमा मोटरसाइकल रोखेर लिम्बू एक रेष्टुरेन्टमा छिरेका थिए। त्यसको केही समयपछि अर्का एक जना व्यक्ति आएर लिम्बूको मोटरसाइकलमा केही वस्तु राखेजस्तो दृश्य सीसीटीभी फुटेजमा देखिन्छ। मोटरसाइकलको सिटमुनि केही वस्तु राखेका ती व्यक्ति त्यसपछि सडक पारी तर्फको सैलुनमा जान्छन्। त्यसको केही समयमा नै सादा पोसाकका प्रहरी आएर लिम्बू बसेको होटलमा छिरेर उनलाई पक्राउ गर्छन्।

लिम्बूको मोटरसाइकलमा बिना रहेको भन्दै उनलाई हत्कडी समेत लगाउँछन्। त्यसको केही समयमै बर्दिसहितको प्रहरी टोली आएर घटनास्थल मुचुल्का गरेको सीसीटीभी फुटेजमा देखिन्छ। फुटेजमार्फत् लिम्बूलाई जानकारी नै नदिइ उनको मोटरसाइकलमा बिना राखेर फसाइएको भन्ने आसयलाई पुष्टि गर्ने दृश्य देखिएपछि छानबिन सुरु गरिएको थियो।

छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार लिम्बूलाई फसाउन प्रहरीको प्रयोग गरेको खुलेको छ। पाँचथरको चिलिङदिङका आदम भनिने सुभाष राई र गुल्मीको मदाने–३ का नारायण कार्की भनिने कृष्ण श्रेष्ठको मिलेमतोमा लिम्बूलाई फसाउन प्रहरी समेतको प्रयोग गरिएको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता सन्तोष सिंह राठौरले बताए।

सुवास भन्ने आदम राई र शिव लिम्बू मिलेर जग्गा कारोबार गर्दै आएका थिए। गत वैशाखमा राईले मदिरा सेवन गरेर लिम्बूलाई फोन गर्दै गाली गरेका थिए। त्यसको ३र४ दिनपछि कपनको स्नोकर हाउसमा लिम्बू र राईबीच कुटाकुट समेत भएको छानबिन समितिले खुलाएको छ।

कुटपिटको विषयलाई लिएर राईले नारायण कार्की भन्ने कृष्ण श्रेष्ठसँग बाघको छाला, कस्तुरीको बिना राखेर लिम्बूलाई फसाएर बदला लिने भनि योजना बनाएको खुलेको छ। फसाउने योजनाअनुसार निरन्तर फलो गर्नेक्रममा असार २३ गते साँझ लिम्बूको मोटरसाइकलमा कस्तुरीको बिना राखेर प्रहरीलाई खबर गरिएको छानबिन समितिले निष्कर्ष निकालेको छ।

लिम्बूको मोटरसाइकलको सिट मुनि बिना राख्न राईले श्रेष्ठलाई खटाएका थिए। सीसीटीभी फुटेजमा देखिएका बिना राख्ने व्यक्ति उनै श्रैष्ठ रहेको प्रहरीले जनाएको छ। श्रेष्ठलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। प्रहरीले लिम्बूसँग सोधपुछ गर्दा समेत राईसँग केही समयअघि झगढा परेको र फसाउने योजनासहित उनैले बिना रोखेको हुनसक्ने बताएका छन्। प्रहरीले लिम्बूलाई पक्राउ गर्दा समेत त्यतिबेला लिम्बूले आफू निर्दोष रहेको र फसाउने षड्यन्त्रसहित बिना राखेको भन्दै चिच्याएका थिए।

पक्राउ परेका श्रेष्ठले समेत राईको निर्देशनमा बिना राखेको बयान दिएका छन्। ‘शिव लिम्बूले प्रयोग गर्ने मोटरसाइकलमा मैले नै सुवास राईको निर्देशनमा नक्कली कस्तुरीको विना राखेको हुँ। त्यसपछि प्रहरीलाई खबर गरेको हुँ,’ श्रेष्ठले भनेका छन्।

समितिले चोख्यायो प्रहरीलाई

लिम्बूलाई फसाउने षड्यन्त्र स्वरुप बिना राखिएको निष्कर्ष निकालेको प्रहरीले लिम्बूलाई पक्राउ गर्ने प्रहरीलाई भने चोख्याएको छ। कसले कुन उद्देश्यले, कस्तो सूचना दिएको भन्ने नबुझी, सूचनाको ‘क्रस चेक’ नगरी ‘निर्दोष व्यक्ति’लाई हत्कडी लगाएर पक्राउ गर्न खटिएका प्रहरी कर्मचारीलाई प्रहरीलाई समितिले उन्मुक्ति दिएको हो।

यसबारे छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ, ‘प्रहरीलाई सूचना प्राप्त भएपश्चात कानुनसम्मत रुपमा प्रहरी कारबाही गर्नुपर्ने दायित्वअन्तर्गत प्रहरी कारबाही भएकोमा उक्त घटनामा प्रहरीको भने कुनै बदनियत र शंकास्पद भूमका देखिएन।’ बिनासहित पक्राउ परेका भनिएका लिम्बू भने अझै हिरासतमै छन्।

उनलाई प्रहरीले बिना, मोटरसाइकलसहित डिभिजन वन कार्यालय हात्तिसार पठाएको थियो। उक्त वस्तु बिना समेत नभएको भन्दै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले रिपोर्ट समेत दिइसकेको छ। नक्कली बिनालाई सक्कली बिना भन्दै बरामद गर्ने र निर्दोष व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गर्ने प्रहरीमाथि कुनै कारबाही हुने छाँट देखिएको छैन। यता घटनाको मुख्य योजनाकार भनिएका राई भने अझैसम्म फरार छन्। (नेपाललाइभबाट)