फिदिम । पाँचथरको हिलिहाङ गाँउपालिकाको कार्यपालिका बैठक एमालेले बहिस्कार गरेको छ ।
गाँउपालिकामा कुनै पनि निर्णय विना ७ जना कर्मचारी निष्कासन गरेपछि एमालेले बिहीबारको बैठक बहिस्कार गरेको हो ।
गाँउ कार्यपालिका सदस्य बिरेन्द्र मंग्रान्तीका अनुसार कुनै छलफल नगरी करारमा रहेका कर्मचारीहरुलाई प्रमुख प्रशासकिय अधिकृत विक्रम लिम्बुले करार अवधि नथपि हटाउने सूचना गरेपछि बैठक बहिस्कार गरिएको हो ।
गाउँपालिका अध्यक्षले चित्त बुझ्दो जवाफ नदिएपछि बैठक वहिस्कार गर्नुपरेको मंग्रान्तीले बताउनुभयो ।
पालिका उपाध्यक्षको सुमित्रा सेडाईँको नेतृत्वमा उक्त निर्णय सच्याउनु पर्ने मागसहित बैठक बहिस्कार गरिएको उहाँले बताउनुभयो ।
उक्त निर्णय नसच्चिएसम्म बैठक बस्न नसक्ने भन्दै एमालेका ११ जना कार्यपालिका सदस्य बैठक छोडेर निस्किनु भएको थियो ।
प्रतिक्रिया