पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘कल डिटेल र लोकेसन हेर्न नदिइएकाले गहिरो अनुसन्धान नै हुन सकेन’

चिन्तन खबर

काठमाडौं । संसदीय छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई सफाई दिने प्रयास गरेको प्रतिवेदनमा उक्त विषयको उठान गर्ने पक्ष नेकपा (एमाले)ले फरक मत राखेको गराएको छ ।

एमालेले अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भनेर निष्कर्ष निकाल्न नसकिने भन्दै फरक मत राखेको हो । एमालेको तर्फबाट छानबिन समितिमा रहेका सदस्यहरुले अनधिकृत भनेर भनिएका व्यक्ति लगायत छानबिनको दायरामा रहेका व्यक्तिहरुको कल डिटेल र मोबाइल लोकेसन हेर्न नदिइएको फरक मतमा उल्लेख गरेका छन् ।

‘बजेट निर्माणको रातिको सम्पूर्ण दृष्य सङ्ग्रहित दुरुस्त अवस्थाको सिसिटिभी फुटेज उपलब्ध नगराइएको, बजेट निर्माण प्रक्रियामा सङ्लग्न व्यक्तिहरुको नामनामेसी अर्थ मन्त्रालयले उपलब्ध नगराएको, त्यसले गर्दा त्यस दिन उपस्थित सबै व्यक्तिसँग सोधपुछ गर्न नपाइएको, ड्युटी फेरिएपछि रातिको सुरक्षा जिम्मेवारी लिने सुरक्षाकर्मीसँग सोधपुछ गर्न समेत अवरोध भएको र करका दरको हेरफेरबाट मर्कामा परेका सरोकारवालासँग पटकपटकको आग्रहका बाबजुद छलफल गर्न समितिका सत्तापक्षीय कतिपय सदस्यहरु इच्छुक नभएको आदि कारणले आर्थिक वर्ष २०७९ को आर्थिक विधेयकमा करका दरहरु हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्तिको प्रवेश भएको होइन थिएन भन्ने विषयमा गहिरो अनुसन्धान नै हुन सकेन’, फरक मतमा भनिएको छ, ‘तसर्थ, अनुसन्धान नै पूर्ण र पर्याप्त हुन नसकेका कारण यत्तिकै आधारमा अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भन्ने निष्कर्षमा पुग्न सकिँदैन।’

अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धी विषयलाई विषयान्तर गर्न र सिसिटिभी सम्बन्धी यथार्थ विवरण लुकाउन अर्थ मन्त्रालयका कर्मचारीहरुले प्रधानमन्त्रीको राजनीतिक संरक्षकत्व खोज्नु, ३ महिनासम्म सिसिटिभी फुटेज सुरक्षित राख्नुपर्ने नियमको उल्लङ्घन हुनु, करका दरको हेरफेरपछिको असरको विश्लेषण गर्दा बजेट निर्माणका क्रममा स्थापित मान्यताहरु स्पष्ट ढङ्गले उल्लङ्घन भएको देखिनु र निश्चित व्यवसायिक समूहलाई लाभ हुने गरी कतिपय करका दरहरु हेरफेरहरु भएको लगायत परिस्थितिजन्य प्रमाणहरुले अनधिकृत व्यक्तिको प्रवेश भएको आशंकालाई नै बल पुग्ने सांसदहरुको प्रष्टोक्ति छ । समितिले अस्पष्ट प्रतिवेदन बुझाएपनि सत्तापक्षले भने निवर्तमान अर्थमन्त्री शर्मा निर्दोष रहेको प्रचार गरिरहेको छ ।