फिदिम । नेपाल निजामति कर्मचारी संगठन पाँचथरले मनोज–झपेन्द्र–सुरेन्द्र विक स्मृति दिवसका अवसरमा फिदिम–२ स्थित जेष्ठ नागरिक आश्रममा आश्रीत जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेको छ ।
मनोज–झपेन्द्र–सुरेन्द्र विकको ३०औं स्मृति दिवसका अवसरमा आज संगठनले जेष्ठ नागरिक आश्रममा कार्यक्रमको आयोजना गरी आश्रम सञ्चालन गरिरहेको सिद्धपोखरी सेवा सदनका अध्यक्ष राधिका थापालाई सामग्री हस्तान्तरण गरेको हो । निजामति कर्मचारीको पेशागत हकहितको सम्वद्र्धनका अतिरिक्त सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको संगठनले वृद्धाश्रममा धेरै आवश्यकताहरु रहेतापनि शहीदहरुको स्मृतिमा मन बाँढ्ने कार्य गरेको संगठनका अध्यक्ष प्रेमबहादुर काफ्लेले वताउनुभयो ।
कार्यक्रममा फिदिम नगरपालिका–२ का वडाध्यक्ष दीननाथ अधिकारी, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रकाश अधिकारी, राष्ट्रसेवक सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्यप्रसाद अधिकारी लगायतले धारणा राख्दै पेशागत हकहितको रक्षाका लागि आवाज उठाउने मनोज जोशी, झपेन्द्र कार्की तथा सुरेन्द्र विकप्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सिद्धपोखरी सेवा सदनका अध्यक्ष राधिका थापाले जेष्ठनागरिक आश्रमका विषयमा धारणा राख्नुभएको थियो ।
स्मृति दिवसका अवसरमा संगठनको कार्यालयमा शहीदहरुको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली ब्यक्त गरिएको संगठनका सचिव मिलन राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया