फिदिम । पाँचथरको याङवरक गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई थप मासिक रु. दुई हजार औषधि उपचार खर्च उपलब्ध गराउने भएको छ । यस प्रकारका विरामीलाई संघीय सरकारले चालु आर्थिक वर्षबाट मासिक रु. पाँच हजार औषधि उपचार खर्च उपलब्ध गराउन लागेको छ ।
गम्भीर प्रकृतिका विरामीको स्वास्थ्योपचारमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाबाट रु. चार लाख ५० हजार बजेटको ब्यवस्था गरी रु. दुई हजार थप गरी एकामुष्ट रु. सात हजार उपलब्ध गराउन लागिएको याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले जानकारी दिनुभयो । मासिक रु. २ हजार अतिरिक्त उपलब्ध गराउन विनियोजित बजेट कम भए थप गर्ने र थप रकम दिने कार्यलाई निरन्तरता दिइने अध्यक्ष योङ्याले वताउनुभयो ।
मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीले वडा कार्यालयमा उपलब्ध अनुसूचि बमोजिमको निवेदन तथा चिकित्सकले दिएको सिफारिसका आधारमा उक्त रकम प्राप्त गर्न सक्ने गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख डिल्लीरमण पाण्डेले जानकारी दिनुभयो । निवेदनसँगै नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा बालबालिकाका हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि सम्लग्न राख्नु पर्नेछ ।
थप रकम सहित उक्त औषधि उपचार खर्च उपलब्ध गराउने कार्यको प्रचार–प्रसार एवं सहजिकरणका लागि गाउँपालिकाले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय स्तरसम्म उपचार सुविधाबारे जानकारी गराई कार्यक्रमलाई प्रभावकारी बनाउन लागिएको गाउँपालिका उपाध्यक्ष बाबा मेयाङ्बोले वताउनुभयो ।
वडाध्यक्ष सहितका जनप्रतिनिधिहरु, स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु, विद्यालयका प्रधानाध्यापकहरु, टोल विकास संस्थाका अध्यक्षहरु लगायतलाई अभिमुखिकरण कार्यक्रममार्फत सूसुचित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेनले जानकारी दिनुभयो । गाउँपालिकाले उक्त औषधि उपचार खर्च रकम त्रैमासिक रुपमा महिनाको अन्तिम दिन लाभग्राहीको खातामा निकासा गर्ने ब्यवस्था गर्ने जनाएको छ ।
प्रतिक्रिया