काठमाडौं । विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन हुनुभएको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले बाँस्कोटालाई अध्यक्ष चयन गरेको विवेकशील साझाका नेता प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो । बाँस्कोटा यसअघि कार्यसम्पादन समिति सदस्य हुनुहुन्थ्यो ।
काठमाडौं स्कूल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाबाट कानूनमै स्नातकोत्तर गर्नुभएकी बाँस्कोटा गत स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएको थियो ।
पाँचथरको रानीटारकी बाँस्कोटा पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाकी कान्छी सुपुत्री हुनुहुन्छ । २०५१ सालको मध्यावधि निर्वाचनमा पाँचथर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बाँस्कोटाले भने सक्रिय राजनीतिबाट सन्यासको घोषणा गरिसक्नु भएको छ ।
यससँगै केन्द्रीय समिति बैठकले अध्यक्षबाट रवीन्द्र मिश्र दिएको राजीनामा स्वीकृत गरेको छ। स्थानीय तहको चुनावमा विवेकशील साझाले सोचेअनुसार जित्न नसकेको भन्दै मिश्रले गत जेठमा अध्यक्षबाट राजीनामा दिनुभएको थियो । केन्द्रीय समिति बैठक बस्न नसक्दा राजीनामा स्वीकृत हुन सकेको थिएन।
त्यस्तै, विवेकशील साझाको केन्द्रीय समिति बैठकले संजीववल्लभ भट्टराईलाई संयोजक चयन गरेको छ। उहाँ पनि कार्यसम्पादन समिति हुनुहुन्थ्यो ।
तर विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले भने पार्टी पुनर्गठन गर्ने वताउनुभएको छ । उहाँलाई मिश्रको बहुमत पक्षले पार्टीबाट निस्कासन गरेको थियो ।
प्रतिक्रिया