पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तमोर करिडोरको काम ९७ प्रतिशत सकियो

चिन्तन खबर

धनकुटा । गत वर्ष सम्पन्न हुनुपर्ने गौरवको आयोजना तमोर करिडोर सडक निर्माण कार्य बल्ल ९७ प्रतिशत सकिएको छ । कोरोनाका कारण एक वर्ष ढिलाइ भएको आयोजनाले जनाएको छ । सडकमा पर्ने १४ वटा खोलामा पुल निर्माण भने बन्न बाँकी छ ।

सुनसरीदेखि धनकुटा, पाँचथर हुँदै ताप्लेजुङसम्म जोडिने १ सय ५३ किमि लम्बाइको उक्त सडक पहिलो चरणमा पाँच प्याकेजका लागि ४ अर्ब ९२ करोड र दुई प्याकेज १ अर्ब ४४ करोडमा ठेक्का स्वीकृत भई निर्माण गरिएको कोसी करिडोर आयोजना पाँचथरका प्रमुख दानकुमार शाक्यले बताउनुभयो । पूर्वी पहाडलाई तराई तथा काठमाडौंसँग छोटो दूरीमा जोड्ने गरी उक्त सडक निर्माण थालिएको हो । पाँचथरको गणेश चोकदेखि धनकुटाको मूलघाट हुँदै सुनसरीको चतारासम्म दुई लेनको उक्त सडक २०७५ देखि निर्माण थालिएको थियो । मेची तथा कोसी राजमार्ग हुँदै धरान तथा धनकुटा पुग्दा तमोर करिडोरको सडकभन्दा दोब्बर गुना लामो यात्रा गर्नुपर्ने बाध्यता अब टर्ने भएको छ ।

प्रस्तावित तमोर जलाशययुक्त आयोजनालाई ख्याल गरेर डुबान नहुने गरी सडक निर्माण गरिएको इन्जिनियर कुवेर नेपालीको भनाइ छ । चतारादेखि लेगुवा जोडिने कोसी करिडोरको सडक भने ३ सय ५० मिटर उचाइमा छ । मध्यपहाडी लोकमार्गसँग पाँचथरको माझीटारबाट तमोर करिडोर प्रत्यक्ष जोडिएको छ । तमोर करिडोर भएर धनकुटाको मूलघाटमा पुनः कोसी राजमार्ग हुँदै हिले खण्डमा आएर मध्यपहाडी लोकमार्गसँग जोडिएको छ । पाँचथरको गणेश चोकमा यो सडकले मध्यपहाडी लोकमार्गसँग जोडिन्छ ।

तमोर करिडोरले खासगरी पहाडी जिल्लावासीलाई प्रदेश राजधानी जोड्न र बजारसँग सिधा पहुँच दिलाउने सांसद राजेन्द्रकुमार राईको भनाइ छ । सडक निर्माणले पहाडी बसाइँसराइको ह्रासलाई घटाउने बताए । सडक निर्माणपछि काठमाडौं ४ सय ४० किमिको दूरीमा रहने छ । पाँचथर–ताप्लेजुङको ५० किमि खण्डको भर्खरै मात्र ठेक्का सम्झौता भएको इन्जिनियर अमिन्द्र खड्काले बताए । ६६ करोडमा ग्राभेल ठेक्का सम्झौता भएको उनले जनाए । दुईवर्षे सम्झौता रहेको सडक तीन प्याकेजमा निर्माण हुने जनाइएको छ । सुवाङखोलादेखि लिम्बुनीपुल–दोभान–थिवा खोला तीन खण्डमा आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

सडक निर्माण अन्तिम चरणमा पुगेको तमोर करिडोरमा पर्ने कुनै पनि खोलामा पुल निर्माण भई नसकेकाले सामान्य वर्षामा समेत सवारी आवागमन प्रभावित हुने गरेको छ । सुनसरीको चतारादेखि पाँचथरको गणेशचोकसम्मको १ सय ५३ किमि सडक खण्डमा बनाउनुपर्ने १४ वटा पुलमध्ये ८ वटाको पुल निर्माणका लागि दसैंसम्ममा ठेक्का प्रक्रिया जाने आयोजनाका इन्जिनियर खड्काले बताए । कम्तीमा ३० मिटर लम्बाइका पुल निर्माण हुने उनले जनाए । पुल नहुँदा धनकुटा–पाँचथर जोड्ने नयाँ खोलामा बाँसको पुलसमेत भत्किएपछि आवतजावतमा अप्ठेरो भएको छ ।

तमोर करिडोर सडक कालोपत्र योजना भने अलपत्र परेको छ । आयोजनाले बहुवर्षीय कालोपत्र योजनाका लागि अर्थ मन्त्रालयमा फाइल पठाए पनि प्रक्रिया अघि बढ्न ढिलाइ भएको जनाएको छ । पुल र कालोपत्रको योजना एकै पटक अघि बढ्ने गरी योजना अघि सारिएको हो,’ उनले भने, ‘मन्त्रालयले सहमति जनाउनासाथ कालोपत्रको काम अघि बढ्छ ।’ धनकुटादेखि पाँचथरसम्म सडक कालोपत्र हुने योजना रहेको जनाइएको छ ।

यो सामाग्री इपाथिभराबाट साभार गरिएको हो