विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको विशेष टोलीले बिभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीहरु पक्राउ गरेको छ ।
फरार प्रतिवादीको खोजी गर्ने क्रममा प्रहरी टोलीले गाउँ घरमा नै लुकिछिपी बसेको अवस्थामा शिवसताक्षी गाउँपालिका–८ झापाका ३७ बर्षीय दिप्सन लावती, सुन्दरहरैचा नगरपालिका–७ मोरङका २५ बर्षीय सुरज परियार र धरान उपमहानगरपालिका–४ सुनसरीका ४९ बर्षीय महेन्द्रबहादुर थापालाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये झापाका लावती सर्बोच्च अदालतको मिति २०६५ फागुन २३ गतेको फैसलाले पुनराबेदन अदालतबाट भएको फैसला सदर भई जन्म कैद सजाय ठहर भएका प्रतिवादी हुन् । कर्तब्य ज्यानमा दोषी ठहर भएपछि उनी फरार थिए । उनलाई प्रदेश प्रहरी कार्यालयको विशेष टोली र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
पक्राउ परेका परियार लागूऔषध मुद्दामा जिल्ला अदालत सुनसरीबाट २५ दिन कैद, २ हजार जरीवाना र थापा सवारी ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट २ महिना ५ दिन कैद र २ हजार जरीवाना सजायको फैसला भई फरार रहेका थिए । पक्राउ परेका तीनै जनालाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको ।
प्रतिक्रिया