Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
स्थानीय तहको निर्वाचनप्रति जनताको उत्साहः मतदान गर्न आतुर « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

स्थानीय तहको निर्वाचनप्रति जनताको उत्साहः मतदान गर्न आतुर


इलाम । उमेरले ८० नाघेका इलाम सन्दकपुर गाउँपालिकाका इन्द्रबहादुर गुरुङलाई यस पटकको स्थानीय तहको चुनाव भिन्न लागेको छ । आसन्न स्थानीय तहको चुनावलाई गुरुङ २०३६ सालको जनमत सङ्ग्रहसँग तुलना गर्नुहुन्छ ।

“त्यसबेला दुई ठाउँमा भोट हाल्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “एकातिर राजा (सुधारिएको राजसंस्था), अर्कातिर बहुदल थिए । अहिले त्यस्तै चल्दैछ जस्तो लाग्छ । यस पटक पनि दुईतर्फी नेतामात्र गाउँ पसेका छन् । एकातिर सत्ता गठबन्धन र अर्कातिर प्रतिपक्ष नेकपा ९एमाले० ।”

यसपटक गुरुङलाई दुई पार्टी मात्र छन् कि जस्तो लागेको छ । गठबन्धन भनेको गुरुङका लागि एउटै पार्टी लागेको छ । यति मात्र होइन, गुरुङ यस पटकको चुनावमा केही आशावादी हुनुहुन्छ । विसं २०७४ को स्थानीय तहका प्रतिनिधिले केही विकास गरेझैँ लाग्छ गुरुङलाई । “स्थानीय तहका प्रतिनिधि माथिजस्तो ९सङ्घ र प्रदेश० भोट जितेर हराइ हाल्दा रहेनछन् । बाटोघाटो बनेको छ ।”

माईजोगमाई गाउँपालिकास्थित लक्षुमन काफ्लेलाई उहाँ जस्तै लाग्ने गरेको छ । उमेरले ६० टेकेका काफ्लेलाई स्थानीय तहको पहिलो कार्यभार समाहलेका जनप्रतिनिधिको काम उल्लेखीय लागेको छ । “सानातिना विवाद लिएर जाँदा पनि जनप्रतिनिधिले मिलाइदिन्छन् । गाउँकै मान्छेले जित्दा समस्यामा पर्दा सजिलैसँग भन्न पाइन्छ”, उहाँले भन्नुभयो, “अपेक्षा गरेर जस्तो त भएन तर अरु जनप्रतिनिधि जस्तो लागेन ।” जनप्रतिनिधिले प्रतीक्षा गरे जति काम नगरेकामा भने काफ्लेको दुखेसो छ । यस पटक पुराना भन्दा पनि नयाँ जनप्रतिनिधि आए हुने जस्तो लाग्छ उहाँलाई । “यो पार्टी, उ पार्टी भन्दा पनि पहिलैदेखि चिनेजानेकैलाई भोट हाल्ने हो”, उहाँले भन्नुभयो, “कम्तीमा दुःख परेको बेला घरसम्म त आइदिन्छ ।”

लक्षुमनलाई त वैशाखमै चुनाव भइहाल्नेमा अचम्म लाग्दैछ । किनकी उहाँले २०५४ साल पछिको स्थानीय निकाय पनि देख्नुभएको छ । “त्यतिबेला पनि पाँच वर्षका लागि हो भन्थे । २० वर्ष चुनावै भएन । उहाँले भन्नुभयो, थप्नुभयो, “अघिल्लो चोटीका जनप्रतिनिधि पनि त्यस्तै होलान् जस्तो लागेको थियो तर होइन रहेछ ।” हुन त पाँच वर्षको अवधिमै स्थानीय तहको चुनाव हुनेमा केही दिन अघिसम्म धेरै जना आशावादी नै थिएनन् । अब भने हुन्छ कि भन्ने लागेको छ । स्थानीय तहका जनप्रतिनिधिले राजनीतिक कार्यसूचीभन्दा पनि विकासका कार्यसूची अघि सारेकाले धेरै खुसी छन् ।

गुरुङ र काफ्ले मात्र होइन, जिल्लाका धेरैलाई यस पटकको चुनाव नौलो र उत्साह छाएको छ । स्थानीय तहका जनप्रतिनिधिको जनतासँग सिधै भेट हुन्छ । त्यसैले पनि ‘अनावश्यक’ र ‘पूरा गर्न नसकिने’ कामको प्रतिबद्धता जनप्रतिनिधिले गर्दैनन् । एकातिर झुट प्रतिबद्धता जनताले नगर्ने र अर्कातिर गरेका बाचा पूरा गर्नै पर्ने बाध्यता हुन्छ । आउँदो चुनावमा फेरि जनतासमक्ष जानुपर्ने बाध्यता भएकाले पनि अनावश्यक बाचा गर्दैनन् जनप्रतिनिधिले । गएको चुनावका ९९ प्रतिशत बाचा र प्रतिबद्धता पूरा गरेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईको भनाइ छ ।

“जति गरे पनि आफ्नै गाउँका लागि गर्ने हो । हामीले त बोलेका कुरा पूरा गरेका छौँ”, उहाँले भन्नुभयो । कोरोना महामारी नआएको भए सबै प्रतिबद्धता पूरा हुने अध्यक्ष राईको दाबी छ । आफूले विकास निर्माण, मानव संशाधन, पर्यटकीय विकास सबै क्षेत्रलाई समेटेर विकास गरेको उहाँको भनाइ छ । राई पनि अब विगतकै कामलाई अघि सारेर जनतामा जाने बताउनुभयो । मलाई अब जनतामा जान असहज छैन । गाउँपालिकाको भवन निर्माणदेखि रेडपाण्डा जोन निर्माण गरेकोसम्मका उपलब्धि गरेको उहाँको भनाइ छ ।

जिल्लामा दश स्थानीय तह छन् । तीमध्ये छ गाउँपालिका र चार नगर छन् । यी सबै स्थानीय तहमा जनप्रतिनिधि आएपश्चात् केही न केही उपलब्धि भएकै छन् । न्यायिक क्षेत्र, व्यक्तिगत घटना दर्ता, भौतिक निर्माण, घरायसी समस्या सबैमा उल्लेखनीय प्रगति भएको छ । यसै कारण पनि सर्वसाधारणमा आशा पलाएको छ ।

‘जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरुन्’

जनताले एक चरण जनप्रतिनिधिको कार्यशैली हेरिसके । काम मात्र होइन, जनप्रतिनिधिकै कारण कतिपय ठाउँमा समस्या पनि भएको छ । त्यसमा पनि इलाममा त पालिका प्रमुख, उपप्रमुख बाझाबाझ गर्नेदेखि जनप्रतिनिधिले कुट्नेसम्म काम गरे । तर यी सबै विषय बिर्सिएर जनता भोट खसाल्न आतुर छन् ।

जनताका पीडा बुझेर काम गर्नुपर्ने सर्वसाधारणको राय छ । यस पटक अनावश्यक प्रतिबद्धता नगर्न सर्वसाधारणको आग्रह छ । “जनप्रतिनिधिले धेरै काम होइन । गाउँघरको पीडा बुझिदिए मात्र हुन्छ”, देउमाई नगरपालिकाकी सर्वसाधारण पवित्रा आचार्यले भन्नुभयो, “प्रतिनिधिले कच्ची काम नगरुन् । बनिने वित्तीकै भत्किने बाटो नबनाउन् । केटाकेटीलाई गुणस्तरीय ठाउँमा पढाउन पाऔँ ।” महँगिएको बजार भाउ घटोस र स्थानीय सामग्री बेच्ने बजार होस् भन्ने चाहना आचार्यको छ ।

“लगाएको सब्जी बेच्ने पाइँदैन । सबै कुइँएर जान्छ । टाढा बोकेर लान सकिँदैन । नजिक बिक्दैन”, उहाँले भन्नुभयो, “भनेको बेला सब्जी होइन, खसी पनि बिक्दैन यो ठाउँमा । यत्ति काम भयो भने भातै चाहिँ खाइन्छ ।” जनप्रतिनिधिको अपेक्षा विद्यालय, यातायात अनि कृषिसँग सम्बन्धित बढी छन् ।

आधारभूत आवश्यकता पूरा गर्न स्थानीय तह लागि पर्नुपर्नेमा उहाँहरुको जोड छ । गाडी भाडा र निजी विद्यालयको शुल्क घट्नुपर्ने इलाम नगरपालिकाकी टीका घिमिरेको भनाइ छ । यसप्रति स्थानीय सरकारले काम गरेमा चर्को खर्च घट्ने उहाँको अनुमान छ । जेनतेन निजी विद्यालयमा पढाइरहनुभएकी उहाँले पुराना जनप्रतिनिधिसँग पनि यी गुनासो राख्नुभएको थियो तर पूरा भएन । आफूहरुका भावना बुझिदिने जनप्रतिनिधि उम्मेदवार आएमा पार्टी नहेर्ने सर्वसाधारणको भनाइ छ ।

उपयुक्त उम्मेदवार आउनेमा आशावादी

स्थानीय तहको चुनाव आउन २४ दिन बाँकी छ । अझै पनि राजनीतिक दलले उम्मेदवारी छनोट गर्न सकेका छैनन् । आन्तरिक रस्साकस्सीमै दल गिजोल्लिरहेका छन् । यसैले पनि दलले कस्ता उम्मेदवार छनोट गर्छन् भन्ने दोधारमा छन् जनता । भरसक उपयुक्त र सही छनोट गर्नुपर्ने उनीहरुको माग छ ।

“पछिल्ला दिन खास प्रगति देखिँदैन । हाम्रा कुला, पैनाका समस्या समाधान हुन् भन्ने लाग्छ”, सन्दकपुर गाउँपालिकाका इन्द्र गुरुङले भन्नुभयो, “हामीलाई बुझेका प्रतिनिधि आउन ।” हालसम्म नेकपा एमालेले केही स्थानीय तहमा प्रतिनिधि टुङ्ग्याएको छ । अन्य दल आन्तरिक रस्साकस्सीमै छन् । एमालेले देउमाई नगर, सूर्योदय नगरमा मात्र उम्मेदवार छनौट गरेको छ । अन्य पालिकामा छनोट प्रक्रिया जारी छ ।

यस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका राष्ट्रिय दलले चाँडै उम्मेदवार चयन गर्ने बताइरहेका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १७ दल दर्ता भएका छन् । गएको चुनावमा भन्दा केही दल बढेको निर्वाचन आयोगले जनाएको छ ।