एजेन्सी । एक अन्तर्वार्तामा गाइको मासु मनपर्छ भनेका कारण बलिउडका चर्चित जोडी रणवीर कपुर र आलिया भट्ट मंगलबार उज्जैनको महाकाल मन्दिरको साँझको पूजामा सहभागी हुन सकेनन् । हिन्दुवादी संगठनको विरोधका कारण उनीहरुले आफ्नो योजना स्थगित गर्नुपरेको थियो ।
रणवीर र आलियाको फिल्म ब्रह्मास्त्र यही शुक्रबार रिलिज हुँदैछ । रिलिज हुनुअघि दुवै आशीर्वाद लिन महाकाल पुगेका थिए तर बजरंग दलका कार्यकर्ताले रणवीर र आलियाको विरोध गरेका थिए । यस कुराको पुष्टि गर्दै महाकाल प्रहरी चौकीका अधिकारीले उनीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न लाठीचार्ज गर्नुपरेको समाचार एजेन्सी पिटिआईलाई बताए ।
पीटीआईले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै पुलिसको कडाईका बाबजुद प्रदर्शनकारीहरूले रणवीर–आलियालाई मन्दिरमा प्रवेश गर्न नदिएको जानकारी दिएको छ । रणवीर कपुर र आलिया भट्ट दर्शनका लागि पुगेपछि बजरंग दलका कार्यकर्ताले ‘जय श्री राम’ नारा लगाउन थाले ।
बजरंग दलका नेता अंकित चौबेले सञ्चारमाध्यमसँगको कुराकानीमा भने, ‘हामी उनलाई पवित्र महाकालेश्वर मन्दिरको दर्शन गर्न दिने छैनौं किनभने केही दिनअघि रणवीर कपूरले आफूलाई मटन, कुखुरा र गाईको मासु खान मनपर्छ भन्नुभएको थियो ।’
उनले दाबी गर्दै भने, ‘यहाँसम्म कि आलियाले पनि उनको फिल्म ‘ब्रह्मास्त्र’ हेर्न मन लाग्नेलाई हेर्न र नलाग्नेलाई नहेर्न पनि भनेकी थिइन् ।’ यद्यपि मन्दिरका पुजारीले पीटीआईलाई फिल्म ब्रह्मास्त्रका निर्देशक अयान मुखर्जीले मन्दिर दर्शन गरेको बताए । प्रहरी अधिकारीले हिन्दू संगठनका कार्यकर्ताहरू विरुद्ध कडा कारबाही गरिने जानकारी दिए ।
प्रतिक्रिया