फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका–२ घर भई वैदेशिक रोजगारीमा रहेका एक युवाले आफ्नो गाउँको एक विद्यालयलाई १४ थान कम्प्युटर प्रदान गर्नुभएको छ ।
कुम्मायक–२ माङजाबुङ घर भई दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहनुभएका गजेन्द्र शेर्माले सोही स्थानको सिद्धसरस्वती माध्यमिक विद्यालयलाई १४ थान कम्प्युटर प्रदान गर्नुभएको हो । रु. ३ लाख बढी मूल्यका कम्प्युटर हिँजो आयोजित कार्यक्रममा शेर्माले विद्यालयलाई हस्तान्तरण गरेको हो ।
आफूले अध्ययन गरेको विद्यालयमा प्रविधिमैत्री शिक्षाको विकासका लागि ब्यक्तिगत लगानीमा कम्प्युटर वितरण गरेको शेर्माले वताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा प्रविधि र पूर्वाधारको विकास अभिभावकहरु जागरुक हुने अपेक्षा लिएको शेर्माको भनाई छ । सिद्धसरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णकुमार शेर्माले अभिभावकहरुको सहयोगले मात्रै विद्यालयको स्तर सुधार हुने भन्दै सहयोगी शेर्मालाई धन्यवाद दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले शेर्माले गरेको सहयोगको प्रशंसा गर्नुभयो । “कोरियामा पैसा कमाउन ठूलो संघर्ष गर्नुपर्छ । त्यहि संघर्ष गरेर कमाएको पैसाले गाउँपालिकाको वृद्धि र विकासका लागि खर्च गर्नु पुन्यको काम हो । यो कामलाई गाउँपालिकाले सधै स्मरण गर्नेछ”, लावतीले भन्नुभयो । कार्यक्रममा वडाअध्यक्ष बालकृष्ण सेर्मा, शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता थियो ।
प्रतिक्रिया