Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
भ्रातृ संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ : नेता डा कोइराला « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

भ्रातृ संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ : नेता डा कोइराला

चिन्तन खबर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ५३औँ वार्षिकोत्सवका अवसरमा नेविसङ्घ उपत्यका क्याम्पस एकाइले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेविसङ्घको भूमिका र पार्टीको दायित्व’ विषयक अन्तरक्रियामा उहाँले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउनुभएको हो ।

“हामी के कारणले कम्युनिष्टसँग मिलेर निर्वाचनमा जान खोजिरहेका छौँ, कांग्रेस एक्लै लड्यो भने पनि आफ्नो गन्तव्यमा पुग्न सक्छ”, डा कोइरालाले भन्नुभयो । उहाँले कांग्रेसलाई कुनै शक्तिको वैशाखी टेक्नु नपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै विद्यार्थी लाग्नुपर्ने बताउनुभयो । नेविसङ्घलाई पूर्णता दिएमात्र कांग्रेस बलियो हुने उहाँको भनाइ थियो ।

कांग्रेस उपसभापति धनराज गुरुङले नेविसङ्घको भविष्यलाई अँध्यारोमा राखेर कांग्रेसको भविष्यमा उज्यालो खोज्न नहुने बताउनुभयो । उहाँले पार्टीको वैचारिक धरातललाई थाँती राखेर प्राविधिक धरातल खोज्न जाँदा पार्टी सङ्कटमा पर्ने भन्दै यसप्रति कांग्रेस नेतृत्व सजग हुनुपर्ने बताउनुभयो ।

“कांग्रेस बचाउनका लागि बाहिर धामीझाँक्री खोज्नुभन्दा नेविसङ्घ बचाउन जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन भरमग्दुर प्रयत्न गर्नुपर्ने बताउनुभयो । कांग्रेसलाई तालमेलले भन्दा पनि एजेन्डाले जिताउनुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनलगत्तै नेविसङ्घ केन्द्रीय कार्यसमितिले पूर्णता पाउने बताउनुभयो । “नेविसङ्घको वर्तमान कार्यसमितिले नै निर्वाचन गर्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले कांग्रेसले आफ्ना मतदाता बढाउने गरी सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । “विगतमा बनेका सरकार हेर्दा पनि कम्युनिष्टसँग गठबन्धन गर्दा भरपर्दो देखिँदैन, कम्युनिष्ट पार्टीको गठबन्धनमा कांग्रेस सरकार बन्ने प्रवृत्तिको अन्त्यका लागि कांग्रेसले सङ्गठन विस्तार गर्नुपर्छ”, उहाँले भन्नुभयो । कांग्रेस सङ्गठनलाई बलियो बनाउने गरी कांग्रेसको सङ्गठन विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पर्यटन, कृषि र जलविद्युत्को माध्यमबाट देशको आर्थिक विकास गर्नका लागि कांग्रेस प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । नेविसङ्घले मुलुकमा कम्युनिष्ट प्रवृत्तिको अन्त्यका लागि लड्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले म्याद सकिएका सबै भ्रातृ संस्थालाई यथाशक्य चाँडो पूर्णता दिने बताउनुभयो । “निर्वाचनमा कांग्रेसले भ्रातृ संस्थालाई चलायमान बनाउन नसक्नु दुःखद हो”, उहाँले भन्नुभयो ।

सहमहामन्त्री परियारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीले स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने भनी स्थानीय तहलाई तालमेलको अधिकार दिएको भन्दै सोहीअनुसार कांग्रेस अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले नेविसङ्घको इतिहास जोगाउने जिम्मा विद्यार्थीको काँधमा आएको बताउनुभयो । पार्टीले नेविसङ्घको कार्यसमितिलाई चाँडो पूर्णता दिनुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस नेता डा मीनेन्द्र रिजालले कांग्रेस एकजुट भए कुनै शक्तिले हराउन नसक्ने बताउनुभयो । राजनीतिमा भविष्य हेरेर गठबन्धन गर्नुपर्ने उहाँको भनाइ थियो । कांग्रेस नेता गुरुराज घिमिरेले अहिलेको गठबन्धनलाई अन्तिम बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेविसङ्घलगायतका भ्रातृ संस्थालाई चाँडै पूर्णता दिन नेतृत्वलाई आग्रह गर्नुभयो ।

नेविसङ्घका पूर्वअध्यक्ष केशव सिंह, रञ्जित कर्ण, पूर्वमहामन्त्री मनोजमणि आचार्य, पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदी, पूर्वकोषाध्यक्ष शिव रिमाल, पूर्वकेन्द्रीय सदस्य मोतिलाल भण्डारी, नेविसङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसका सभापति पुस्कर बाँस्तोलालगायतले नेविसङ्घलाई वर्तमान पार्टी नेतृत्वले बुझ्न नसक्दा नेविसङ्घ कमजोर बन्दै गएको बताउनुभएको थियो ।