फिदिम । जिल्लाका अग्रणी सामाजिक अभियन्ता, लेखक एवं पत्रकार रामप्रकाश समथिङको निधन भएको छ ।
शरीरमा अक्सिजनको कमी, रगतमा प्लेटलेस तथा रक्तचाप कमी लगायत समस्या भोगिरहनुभएका उहाँको उपचारका क्रममा हिँजो साँझ झापाको विर्तामोडिस्थित बिएण्डसी अस्पतालमा निधन भएको उहाँको परिवारजनले जनाएका छन् । उहाँको शरिरमा अक्सिजनको कमीसँगै रगतमा प्लेटलेस र रक्तचाप कमी देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएको परिवारजनले वताएका छन् ।
२०२६ साल माघ २९ गते जिल्लाको नांगीनमा जन्मनुभएका उहाँले पत्रकारिता र गैरसरकारी संस्थामार्फत सामाजिक क्षेत्रमा क्रियाशील हुनुभएको थियो । वास्तविक नाम रामबहादुर गुरुङ रहनुभएका उहाँ रामप्रकाश समथिङ नामले सुपरिचित हुनुहुन्थ्यो । फिदिममा रहेर पनि हालसम्म ५५ वटा कृति प्रकाशन गर्नुभएका समथिङ लेखन क्षेत्रमा सिद्धहस्त मानिनुहुन्थ्यो ।
विशेषत उहाँले तथ्याङ्कीय विषयहरुको सङ्ग्रह, रसरङ्गका विषयलाई समेटिएका उपन्यास, कथा सङ्ग्रह लगायत कृति प्रकाशन गर्दै आउनुभएको थियो । उहाँले एकै पटक २२ वटा कृति जिल्लाका पत्रकारहरुबाट विमोचन गराउनुभएको थियो भने चिकित्सकहरुबाट समेत नौ वटा कृति एकैसाथ विमोचन गराउनुभएको थियो । उहाँको ५५औं कृतिका रुपमा ‘ओयामका जनप्रतिनिधिहरु’ नामक कृति प्रकाशन भएको थियो । जिल्लासँग सम्बन्धित धेरै विषयमा उहाँले कृति प्रकाशन गर्नुभएको थियो ।
उहाँ सुनेसम्म र भ्याएसम्म मलामी जाने अभियन्ता हुनुहुन्थ्यो । ‘बाँच्दाको जन्ती र मर्दाको मलामी । जन्ती जान निम्तो हुन्छ तर मलामी जान निम्तो हुँदैन ।’ भन्ने अभियानसहित उहाँ मलामी जाने गर्नुभएको थियो । पछिल्लो पटक उहाँ फिदिमका डम्बरबहादुर ग्याङ्मी मगरको मृत्यु हुँदा ५२२ औं पटक मलामी जानुभएको थियो । मलामी गएपछि शवको शदगत गर्ने क्रममा उहाँ सहयोगी भई खटिने गर्नुभएको थियो ।
समथिङले २५ वर्ष ४ महिना २५ दिनमा ८२ वटा डायरीमा दैनिकी लेख्नुभएको थियो भने कोरोनाभाइरस सङ्क्रमणको सुरुआत भएपछि गत भदौ २५ गतेसम्म दैनिक अभिलेख राख्ने तथा सामाजिक सञ्जालमा पोष्ट गर्दै आउनुभएको थियो ।
हुकोडेक नेपालमार्फत मानवअधिकारको क्षेत्रमा क्रियाशील हुनुभएका समथिङले समथिङ फाउण्डेसन नामको संस्था आफ्नै संरक्षकत्वमा स्थापना गरी विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको थियो । घरबारविहीन मजदूरहरुको उपचारमा सहयोग, विपन्न परिवारहरुको जिविकोपार्जनमा सहयोग, दृष्टिविहनी विद्यार्थीको पठनपाठनमा सहयोग, लोक बाजा संरक्षण अभियान जस्ता कार्यमा उहाँको नेतृत्वदायी भूमिका रहँदै आएको थियो । समथिङको निधनपछि जिल्लावासीले एक मुर्धन्य समाजसेवी एवं लेखकलाई गुमाएको प्रतिक्रिया दिएका छन् ।
उहाँ सरकारको सिफारिसमा गत वैशाक १ गते जनसेवाश्री पदकबाट विभूषित हुनुभएको थियो । उहाँका श्रीमती र दुई जना छोराहरु छन् । उहाँले मरणोपरान्त आँखा दान गर्ने घोषणा समेत गर्नुभएको बुझिएको छ ।
प्रतिक्रिया