काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उक्त विधेयक निष्क्रिय बनेको छ । गएराती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।
दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो । राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्र्काएको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेको थियो । त्यसपछि पुनः २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएका थिए ।
संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिले यो विधेयक ४ असोज (मंगलबार मध्यरात)सम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो । संविधानको धारा ११३ (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’ तर प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको सन्दर्भमा राष्ट्रपतिले उक्त विधेयक प्रमाणिकरण गर्न अस्वीकार गर्नुभएको हो ।
प्रतिक्रिया