पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धनविरुद्ध फालेलुङका निवर्तमान अध्यक्ष केरुङको उम्मेदवारी

चिन्तन खबर

फिदिम । आसन्न निर्वाचनमा पाँचथर प्रदेश सभा क्षेत्र नं. क सत्तारुढ गठबन्धनले नेकपा (एकीकृत समाजवादी)लाई दिएपछि जिल्लाको फालेलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष सञ्चकुमार केरुङले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

उक्त क्षेत्र काँग्रेसले नै राख्नु पर्ने चर्को दबाब भएपनि गठबन्धनमा एकीकृत समाजवादीको भागमा परेपछि काँग्रेसबाट विद्रोह भएको हो । केरुङले बागी उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले आफूले न्यूनतम पनि सात हजार मत प्राप्त गर्ने दाबी समेत गर्नुभएको छ ।

आफूले काँग्रेस एक्लै लड्नु पर्ने वताएको र नेपाली काँग्रेसका शीर्ष नेताहरुले समान ढङ्गले नहेरेपछि स्वतन्त्र उम्मेदवारी दिएको केरुङले वताउनुभयो । आफू ०४९ सालदेखि स्थानीय निकायमा क्रियाशील रहेको र पाँच वर्ष गाउँपालिकाको नेतृत्वको अनुभव रहेकाले क्षेत्र नं. क को विकासका लागि आफू लाग्ने उहाँले वताउनुभयो ।

“अहिले नै म यो गर्छु, त्यो गर्छु भन्ने छैन्”, केरुङले भन्नुभयो, “पछि आवश्यक परेको काम गरेर जाने हो ।” निर्वाचनको परिचालनका लागि आफ्नो टिम परिचालित हुने उहाँको भनाई छ ।

यस क्षेत्रबाट गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगूलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ । जबेगूलाई केरुङले वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा पराजित गर्नुभएको थियो । केरुङ गाउँपालिका अध्यक्ष निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेन्द्रहाङ जबेगू बन्नुभएको थियो भने एमालेबाट उम्मेदवार बन्नुभएका कमलप्रसाद जबेगूले तेश्रो मत प्राप्त गर्नुभएको थियो ।

यस क्षेत्रबाट नेकपा (एमाले)ले जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारीलाई उम्मेदवार बनाएको छ ।