पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेताले ‘चुप लागेर घर बस्नुस् बाजे’ भनेपछि मन्त्रीविरुद्ध मैदानमा आए लावती

चिन्तन खबर

फिदिम । नेपाली काँग्रेसका नेता खड्गसुन्दर लावतीले पाँचथर प्रदेश सभा क्षेत्र नं. ख बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

काँग्रेसमा लामो योगदान दिनुभएका मिक्लाजुङ–५ कुरुम्बाका लावतीले आफूलाई टिकट दिने भनेर पार्टीले टिकट नदिएको भन्दै गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनुभएको हो । अब उहाँको प्रतिस्पर्धा नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङ र माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोसँग हुनेछ ।

०३९ सालमा कुरुम्बा गाउँ पञ्चायतको प्रधानपञ्च तथा ०४८ मा कुरुम्बा गाविसको अध्यक्ष बन्नुभएका लावती ०७४ को निर्वाचनमा मिक्लाजुङ गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्नुभएको थियो । तर उहाँले तेश्रो मत प्राप्त गर्दै पराजित हुनुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं. २ को क्षेत्रीय सभापति बनिसक्नु भएका लावती नेताहरुलाई आफूलाई चुप लागेर घर बस्न भनेपछि उम्मेदवार बनेको वताउनुहुन्छ । लावतीका अनुसार उहाँलाई प्रदेश सभाको उम्मेदवारीका लागि नेतृत्वले सुरुमा वचन थियो । तर पछि टिकट नदिने भनेपछि आफूले विद्रोह गरेको लावतीको भनाई छ ।

“पार्टी सभापति शेरबहादुर देउवासँग नेताहरुले उम्मेदवार उहाँ नै हो, उहाँको थुप्रै योगदान छ, हाम्रो अभिभावक हो भन्नुभएको थियो”, मनोनयन पत्र दर्तापछि लावतीले भन्नुभयो, “तर भदौ ९ गते आएर टिकट अरुलाई नै दिइपठायौँ, तपाईं चाहिँ बाजे चुप लागेर घरै बस्नुस भन्नुभयो । मैले त्यो कुरा स्वीकार गर्दिन भनेँ । भदौ १० गते जिल्ला बैठक थियो । त्यहाँ आएर यो कुरा एक मान्दिनँ, दुई मान्दिनँ, मान्दै मान्दिनँ भनेर हिँडेको हुँ ।”

लावतीले आफूले काँग्रेस पार्टी नछोड्ने पनि उल्लेख गर्नुभयो । उहाँको भनाई छ, “पार्टीमा मेरो रगत पसिना बगेको छ । पार्टीलाई पूरै विस्थापित गर्ने नियतमा होइन् । तर जनताको सेवाको भावनाले चुनावी मैदानमा आएको हुँ । क्षेत्र नं. २ का लागि सोही क्षेत्रको ब्यक्तिले चुनाव जित्नुपर्छ भन्ने मेरो मान्यता हो । एउटा पदमा नरहि जनताको सेवा गर्न नसकिने रहेछ, फुस्रो वचन नबिक्दो रहेछ । त्यसैले उम्मेदवार बनेको हुँ ।”

लावतीको उम्मेदवारी यस क्षेत्रबाट काँग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोविरुद्ध देखिएको छ । उमेर ढल्किएपछि पार्टीमा विद्रोह गरेका लावतीको भनाई छ – “यस क्षेत्रको विकास र समृद्धिका लागि उम्मेदवारी दिएको हुँ । मेरो लामो योगदानले चुनाव जित्छु भन्ने आशा छ ।”