फिदिम । पाँचथरमा आगोमा जलेर एक वृद्धाको ज्यान गएको छ ।
जिल्लाको फिदिम नगरपालिका वडा नं. १३ फेजुङको गैरीगाउँकी ९२ वर्षीया सुकमती नेम्बाङको आफैँले ओढेका कपडामा आगो लाग्दा जलेर मृत्यु भएको हो । प्रहरीका अनुसार घाँस काट्न जाने क्रममा आज विहान ७ः३० बजे छिमेकीले वृद्धाको घरबाट धुँवा निस्किरहेको देखेका थिए ।
छिमेकीले वृद्धाको जलेर मृत्यु भएको खवर गरेपछि फिदिम–७ स्थित अस्थायी प्रहरी चौकी तमाखेबाट खटिएको प्रहरी टोलीले वृद्धालाई जलेको मृत्यु भएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।
अगेनोको छेउमा ओच्छ्यान लगाई सुतेकी वृद्धाको अगेनोमा बालेको आगो ओढेको कपडा सल्किएपछि भाग्न नसक्दा जलेर मृत्यु भएको प्रहरीको भनाई छ । वृद्ध अवस्थाका कारण सुकमती राम्रोसँग हिँडडुल गर्न नसक्ने र उक्त घरमा सुकमती मात्रै बस्दै आएको छिमेकीले वताएका छन् ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको प्रनाउ खतिवडाले जानकारी दिनुभयो । आगलागीबाट वृद्धाको घरमा अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ ।
तस्वीर सौजन्य : जिल्ला प्रहरी कार्यालय पाँचथर ।
प्रतिक्रिया