काठमाडौं । सत्ता र शक्ति कति प्यारो छ भन्ने कुरा आज भइरहेको नेपाली काँग्रेस संसदीय दलको निर्वाचनले देखाउँछ । ५ पटक प्रधानमन्त्री भइसक्नु भएका नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आज आफूभन्दा ३२ वर्ष कान्छा पार्टीकै महामन्त्री गगनकुमार थापासँग संसदीय दलको नेताको प्रतिस्पर्धामा हुनुहुन्छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी मतदानमा ७८ वर्षीय देउवा र ४६ वर्षीय थापावीच प्रतिस्पर्धा हुनेछ ।
आश्चार्य चाहिँ लामो समयदेखि नेतृत्व परिवर्तनको आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल मुद्दा विसर्जन गर्दै देउवाकै प्रस्तावक बन्नुभएको छ भने अब मन्त्री नबन्ने घोषणा गर्नुभएका काँग्रेस उपसभापति पूर्णबहादुर खड्का पौडेलको प्रस्तावमा समर्थक हुनुहुन्छ ।
तर गगनका पक्षमा काँग्रेसमा आकर्षक माहोल तयार भएको छ । थापालाई काँग्रेस बरिष्ठ नेता डा. शेखर कोइरालाले दलको नेता प्रस्ताव गर्नुभएको छ भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीमा थापाका प्रतिस्पर्धी प्रदीप पौडेलले समर्थन गर्नुभएको छ ।
०५१ सालमा तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सार्नुभएको थियो । दलको नेता भएकै कारण देउवा ४९ वर्षको उमेरमा प्रधानमन्त्री बन्नुभएको थियो । तर ७६ वर्ष पुगिसक्दा पनि देउवाको प्यास मेटिएको छैन् भने आफैँले उठाएको पुस्तान्तरणको मुद्दा उहाँको समूहका कुनै नेताले अहिले स्मरण पनि गरेका छैनन् ।
पार्टीको १४ औं महाधिवेशनमा पुस्तान्तरणकै मुद्दा बोकेर देउवासँग प्रतिस्पर्धा गरेका नेता डा. शेखर कोइरालाले आफ्नै टिमबाट निर्वाचित महामन्त्री थापालाई दलको नेताका लागि अघि सारेर पार्टीमा नयाँ तरंग सञ्चार गराउनुभएको त छ नै, आफू नलडी आम काँग्रेस कार्यकर्ताको मन जित्नुभएको छ ।
थापाको उम्मेदवारीमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल समर्थक हुनुहुन्छ । १४ औं महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट प्रतिस्पर्धा गरेका शर्मा महामन्त्रीमा विजयी हुनुभएको थियो । देउवाको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका पौडेल भने पराजित हुनुभएको थियो । पार्टीको पहिलो पुस्ताबाट परिवर्तन सम्भव नभएको निष्कर्षका साथ थापा र शर्मासँगै पौडेल पनि एकै ठाउँ हुनु काँग्रेस राजनीति नयाँ मोड आउने सङ्केतका रुपमा हेरिएको छ ।
प्रतिक्रिया