काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित सडकमा प्रदेश २–०३–००१ च २३९६ नम्बरको बोलेरो गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–२ बस्ने ३५ वर्षीय चक्रेश्वर चौधरीको शुक्रबार राती मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सर्लाहीकै ईश्वरपुर नगरपालिका–१२ सडकमा ना १ ब २५५६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको धनुषाधाम नगरपालिका–३ बस्ने ३० वर्षीय रोशन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।
उता रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ स्थित सडकमा ग १ ज ६३६७ नम्बरको बोलेरो गएराती आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार हाल वतन नखुलेका २८ वर्षीय रोशन गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ स्थित चारनाथ पुलमा प्र २–०२–००३ प.९६०९ नम्बरको मोटरसाइकललाई को १ ख ४६२४ नम्बरको बसले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने ३० वर्षीय पवन जैसवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडास्थित सडकमा सु प प्र ०२००१ ज ४०६ नम्बरको हायस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा गाडीमा सवार हाल वतन नखुलेका ७३ वर्षीय कर्मा प्याकुरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीका चालक सहित ६ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।
यता बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित सडकमा ना ७ ख १७ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री दैलेख नारायण नगरपालिका–५ खातिकोट बस्ने १८ वर्षीय तेजन थापा मगरको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया