Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा ३०१औं पृथ्वी जयन्तीः सरकारी कार्यक्रम बनाउन र विदालाई निरन्तरता दिन माग « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा ३०१औं पृथ्वी जयन्तीः सरकारी कार्यक्रम बनाउन र विदालाई निरन्तरता दिन माग

चिन्तन खबर

फिदिम । पाँचथरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस अन्तरक्रिया कार्यक्रमका साथ सम्पन्न भएको छ । अन्तरक्रियाका अधिकांश सहभागीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल र नेपालीको अस्तित्व र पहिचान सिर्जनाका साथै दिब्योपदेशमार्फत भावी पुस्तालाई बाटो देखाउने काम गरेको उल्लेख गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, जिल्ला कार्यसमिति पाँचथरले बुधवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरी उहाँले पु¥याउनुभएको योगदानको सम्मान गरेका थिए । कार्यक्रमका अधिकांश वक्ताहरुले यस वर्षबाट सरकारले पृथ्वी जयन्ती सार्वजनिक विदा दिएर राम्रो काम गरेको भन्दै आगामी वर्षबाट सार्वजनिक विदालाई निरन्तरता दिनुपर्ने माग गरे ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै यस दिन राष्ट्रिय एकता एवम् सद्भाव वृद्धिका लागि सरकारी स्तरबाटै राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र उहाँको योगदान चर्चा हुने कार्यक्रम आयोजना गर्नुपर्नेमा समेत वक्ताहरुले जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मानदेव केरुङले भन्नुभयो, “नेपाल र नेपाली भन्ने पहिचान नै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले बनाइदिनु भएको छ । नेपाल एकीकरणका क्रममा जे परिघटना भए, त्यसलाई हेरेर होइन् त्यो समयको आवश्यकतालाई अहिले बुझेर अघि बढ्नुपर्छ ।”

नेपालीवीचको एकता र सद्भाव बढाउन पनि पृथ्वी जयन्तीजस्तो उपयुक्त दिन अर्को नहुने केरुङको तर्क छ । “यदाकदा जातजाति, भाषाभाषिवीच एकता भएन भन्ने आवाज पनि उठिरहेको छ । तर आजको आवश्यकतालाई मध्यनजर गरेर सबै मिल्नुको विकल्प छैन् । त्यो मिलनविन्दू पृथ्वी जयन्ती हुन सक्छ”, केरुङले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेले कुटनीति, राजनीति र अर्थशास्त्रमा भविश्यसम्म शोधको विषय बन्ने दिब्योपदेश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई सबैले सम्मान गरेर जाने वातावरण सिर्जनामा जोड दिनुभयो । पूर्वजको इतिहासलाई संरक्षण, सम्वद्र्धन र स्वीकार गरेर अघि बढेमात्रै मुलुकको रुपान्तरण सहज हुने उहाँको भनाई थियो ।

अन्तरक्रियाका प्रमुख अतिथि राप्रपाका केन्द्रीय प्रवक्ता सगुनसुन्दर लावतीले नेपाल एकीकरणका क्रममा तत्कालीन आवश्यकता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले पूरा गरेको तर अहिलेको आवश्यकता अहिलेका शासकहरुले पूरा नगर्दैमा राष्ट्रनिर्मातालाई दोष दिन नहुने वताउनुभयो ।

“हिजो सवल राष्ट्रको आवश्यकता थियो, त्यो राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले पूरा गर्नुभयो । आज समावेशीकरण, समानुपातिक प्रतिनिधित्वजस्ता माग पूरा गर्नु आजको आवश्यकता बनेको हो”, लावतीले भन्नुभयो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार गरेपनि नेपाल र नेपालीको पहिचान स्थापित गर्नु नै उहाँको महानता भएको लावतीको भनाई थियो । “गोरखाको राजा भएपनि नेपाल बनाएर छोड्नु भयो”, लावतीले भन्नुभयो, “नेपाल एकीकरण ठूलो क्रान्ति थियो । क्रान्तिपछि नीति, नियम, नेतृत्व, संरचना र पहिचान निर्माण आवश्यक हुन्छ । त्यो सबै कूरा एकीकरणमार्फत राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले पूरा गर्नुभयो ।”

लिम्बुवानको इतिहास पढ्दा शैन्य बलले मात्रै नभई कुटनीतिका माध्यमबाट समेत नेपाल एकीकरण सम्भव भएको पाइने हुनाले उक्त इतिहासलाई सम्मान गर्नुपर्ने लावतीको भनाई छ । नेपाली राजनीतिमा स–साना घटना हुनासाथ भूराजनीतिलाई कारण देखाइने गरेको भन्दै लावतीले भूराजनीतिदेखि अर्थतन्त्र सवल बनाउने कुरासम्म राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले दिब्योपदेशमार्फत प्रष्ट्याउनुभएको लावतीले वताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पाँचथरका सचिव दीपक नेपाल, राप्रपाका केन्द्रीय सल्लाहकार राजकुमार जोशी, नेकपा (माओवादी केन्द्र)का लालबहादुर गुरुङ, नेकपा (एकीकृत समाजवादी)का प्रेमप्रसाद रिजाल, नेकपा (माले)का लयप्रसाद बाँस्कोटा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष चन्द्रराज आङदेम्बे, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरे लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।