पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अलैंचीका समस्या समाधान गर्न कृषकदेखि सरकारसम्म अन्तरक्रिया गर्दै महासंघ

चिन्तन खबर

फिदिम । नेपाल अलैंची ब्यवसायी महासंघले अलैंची उत्पादक कृषकदेखि सरकारसम्म अन्तरक्रिया गरी अलैंचीमा रहेका समस्या समाधानको प्रयास थालेको छ ।

‘कालो सुन’को उपनाम पाएको नगदेवाली अलैंचीको उत्पादन, गुणस्तर र बजारमा विगत केही वर्षदेखि देखिएका समस्या समाधानमा सबै पक्ष एकजुट भई लाग्नुपर्ने आवश्यकता देखिएको भन्दै महासंघले यो अभियान थालेको हो । अलैंचीको अत्यधिक उत्पादन हुने प्रदेश नं. १ का तीन जिल्ला ताप्लेजुङ, पाँचथर र इलामका कृषक, ब्यवसायी र सरोकारवालाहरुलाई आज पाँचथरको फिदिममा भेला गरी महासंघले अन्तरक्रियाको थालनी गरेको छ ।

उत्पादनदेखि बजारसम्म देखिएका समस्या समाधानमा एउटा निकाय मात्रै सक्रिय भएर नपुग्ने अवस्था आएको भन्दै महासंघले कृषक र ब्यवसायीका समस्या तथा उनीहरुले दिएका समाधानका उपायलाई सरकारसम्म पु¥याउने लक्ष्यका साथ अन्तरक्रियाको अभियान थालेको हो । “आजबाट सुरु भएको अन्तरक्रियाको कार्यक्रम अलैंची उत्पादन हुने सबै जिल्लासम्म पु¥याइ कृषक, ब्यवसायी र सरकारी निकायको सुझावका आधारमा नयाँ नीति निर्माण गर्न सरकारलाई दबाव दिन लागेका हौं”, महासंघका अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो ।

विगतमा प्रतिमन (४० किलोग्राम) रु. १ लाख २० हजारसम्म मूल्य पाएको अलैंची अहिले सरदर प्रतिमन रु. २७ हजारमा विक्री भइरहेको छ । विद्यमान मूल्यले अलैंची उत्पादनको लागत मात्रै थेग्ने अवस्था आएपछि कृषकहरु निराश बनेका छन् ।

अलैंची खेती, उत्पादन, प्रशोधन, ग्रेडिङ तथा बजारीकरणमा कृषकहरुले गुनासो राख्दै आउने, सरकारी निकायले अलैंचीको अन्तर्राष्ट्रिय बजार खोजीमा उपयुक्त पहल नगर्ने, अलैंचीको बजारमा भारतको एकाधिकार रहने अवस्था अन्त्यको प्रयासस्वरुप समस्या पहिचानको कार्य थालिएको अध्यक्ष भट्टराईको भनाई छ ।

यहाँ आयोजित अन्तरक्रियामा सहभागी कृषक तथा ब्यवसायीहरुले प्राविधिक ज्ञानको अभावले सही तरिकाले खेती गर्न नसकेको, माटो परीक्षण गरी अलैंचीको उपयुक्त प्रजाति रोपण गर्न नसकेको, अलैंचीको विरुवामा देखिने समस्या विषादी प्रयोगले समेत समाधान नभएको जस्ता गुनासो राखेका छन् ।

पछिल्ला वर्षहरुमा अलैंचीको बगान नै सुक्ने, अलैंचीको दाना कुहिने जस्ता नयाँ समस्या देखिएको, अलैंचीको मूल्यमा आएको गिरावटका कारण कामदार लगाएर अलैंची उत्पादन गर्न नसक्ने अवस्था आएको लगायत गुनासो समेत कृषकहरुका छन् ।

मूल्य निश्चित नहुँदा कृषक झनै निराश छन् । “हामीले निकै कठिनले प्रतिमन २५ हजारमा अलैंची बिक्री गर्नुपर्छ । मेरो साउदी अरबमा भएको भाइले भन्छ, यहाँ आइपुगेको अलैंची प्रतिकिलो ६ हजार रुपैयाँमा बिक्री भइरहेको छ”, ताप्लेजुङका कृषक हर्क गुरुङले भन्नुभयो, “यस्तो अवस्था आएपछि हामीले कसरी खेती गर्ने ?”

इलामका ब्यवसाय एवं कृषक श्री बिष्ट समस्यामा रहेका अलैंची उत्पादक तथा ब्यवसायीलाई राज्यका कुनै पनि निकायले सहयोग नगर्ने, वित्तीय संस्थाले ऋण समेत नदिने अवस्थाले झनै समस्या परेको वताउनुहुन्छ । “रोग किराका समस्या समाधान नै हुँदैनन् । रोग लागेपछि बगान सखाप हुन्छ”, बिष्टले भन्नुभयो, “अलैंचीको उत्पादन र बजारमा सम्लग्नले ऋण समेत नपाउने अवस्था छ ।”

कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेल नीति निर्माण गर्ने निकायमा अलैंचीका समस्या बुझ्ने ब्यक्तिहरुको प्रतिनिधित्व नहुँदा समस्या भएको वताउनुहुन्छ । ब्यवसायी एवं पाँचथर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दीपक नेपाल अलैंचीको समस्या सिमित कृषक र ब्यापारीको समस्या नभएकाले राज्यले गम्भीरतापूर्वक लिनुपर्ने वताउनुहुन्छ ।

पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरे अलैंचीको मूल्यमा आएको गिरावटले पूर्वी पहाडको अर्थतन्त्रमा गम्भीर असर पारेको वताउनुहुन्छ । “यहाँ लगानी गर्ने मानिसहरुको अभाव छ । घरजग्गाको बिक्री कमजोर बनेको छ”, घिमिरेले भन्नुभयो, “अलैंचीको ब्यापार गर्ने धेरै ब्यवसायी नयाँ ब्यवसायतर्फ लाग्नुभएको छ । यहाँको अर्थतन्त्र चलायमान बनाउन अलैंचीका समस्या समाधान गर्नु जरुरी छ ।”

समस्या समाधानका लागि महासंघले पछिल्लो समय अलैंचीको घरेलू खपत बढाउने कार्यक्रमलाई अभियानका रुपमा अघि बढाएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । यस्तै अलैंचीको ग्रेडिङ र गुणस्तरीय उत्पादनमा समेत महासंघले कृषकहरुलाई सहयोग गर्दै आएको छ ।

महासंघको तथ्याङ्कअनुसार नेपालबाट आर्थिक वर्ष २०७७/०७८ मा ८५ लाख ६६ हजार किलो अलैंची निर्यात हुँदा रु. ६ अर्ब ८९ करोड ५४ लाख रकम नेपाल भित्रिएको छ । यस्तै गत आ.व. ०७८/०७९ मा ५२ लाख ८० हजार किलो अलैंची निर्यात हुँदा रु. ४ अर्ब ७६ करोड ४३ लाख रकम नेपाल भित्रिएको छ ।

चालु आ.व.को मङ्सिर मसान्तसम्ममा नेपालबाट ३३ लाख ९२ हजार किलो अलैंची निर्यात भएको छ । जसले रु. २ अर्ब ७२ करोड ३६ लाख मूल्य पाएको छ । नेपालका ४२ जिल्लामा अलैंची खेती हुने गरेको अलैंची विकास केन्द्र, इलामको तथ्याङ्क छ ।