पोखरा । यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेकामध्ये ७० जनाको शव फेला परेको छ भने २ जनाको अवस्था अझै अज्ञात छ ।
सम्पर्कविहीन रहेका २ जनाको दुर्घटनाको तेस्रो दिन आज पनि खोजी जारी रहने छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीका अनुसार दुर्घटनामा परी सम्पर्कविहीन रहेका २ जना यात्रु खोज्न मंगलबार पनि गोताखोरसहित ४ वटा ड्रोनको प्रयोग गरिनेछ ।
हिजो (सोमबार) ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएको थियो । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो ।
आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।
भेटिएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शव सनाखत र पोस्टमार्टमपछि सोमबार साँझबाट मृतकका आफन्तलाई बुझाउन थालिएको छ । शव बुझाउन ढिलो भएको भन्दै दिउँसो केहीबेर अस्पताल प्रशासनमा भनाभनसमेत भएको थियो ।
दुर्घटनामा परी मृत्यु भएका २४ जनाको शव पोखरामै पोस्टमार्टम गरिने छ भने बाँकी ४५ जनाको आजै काठमाडौं पठाइने भएको छ । अपुष्ट, विदेशी एवं पहिचान नखुलेका शव सोमबारै काठमाडौं लैजाने भनिएको थियो । त्यसका लागि काठमाडौंबाट हेलिकप्टर पनि हिजै पोखरा आइसकेको थियो ।
तर, पोखरामा भएका शवकै पोस्टमार्टम र पहिचान प्रक्रियामा ढिलाइ हुने भएकाले मंगलबारमात्रै काठमाडौं पठाउन लागिएको एसपी केसी जानकारी दिनुभयो । “यहाँ भएका शव बिहान ८ बजेपछि पोस्टमार्टम हुनेछन् । बाँकी शव बिहान १० बजेभित्र काठमाडौं लगिसकिन्छ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया