Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
याङवरक–३ मा ६० वर्ष माथिका नागरिकलाई प्रेसर र सुगरको औषधि निःशुल्क « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

याङवरक–३ मा ६० वर्ष माथिका नागरिकलाई प्रेसर र सुगरको औषधि निःशुल्क

चिन्तन खबर

फिदिम । पाँचथरको एउटा वडाले ६० वर्ष माथिका वडाबासीलाई उच्च रक्तचाप (हाई ब्लड प्रेसर) र मधुमेह (सुगर)को औषधि निःशुल्क वितरण गर्न थालेको छ ।

जिल्लाको याङवरक गाउँपालिका वडा नं. ३ ओयाममा वडा कार्यालयले वडामा बसोबास गर्ने ६० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण गरी प्रेसर र सुगरको औषधि वितरण गर्न थालेको हो । वडाका धेरै जेष्ठ नागरिकहरु प्रेसर र सुगरका विरामी रहेको पाइएपछि वडाले बजेटको ब्यवस्था गरी औषधि वितरण थालेको हो ।

चालु आर्थिक वर्षमा रु. ४ लाख बजेट ब्यवस्था गरी औषधि वितरण थालिएको वडाध्यक्ष बिमल राईले जानकारी दिनुभयो । गत स्थानीय निर्वाचनबाट निर्वाचित वडाध्यक्ष राईको समितिले पद बहालीका क्रममा सोसम्बन्धी पहिलो निर्णय गरेको थियो । निर्णयबमोजिम गाउँपालिकाबाट प्राप्त बजेटमा वडाले रु. ४ लाख औषधि खरिदका लागि छुट्ट्याएको थियो ।

स्वास्थ्य चौकी ओयामबाट प्रेसर र सुगरको औषधि खाने ६० वर्षमाथिका वडावासीको तथ्याङ्क सर्वेक्षणपछि वडाले स्वास्थ्य शिविर आयोजना गरेको थियो । वडाध्यक्ष राईका अनुसार स्वास्थ्य परीक्षणपछि प्रेसर र सुगरको औषधि वितरण थालिएको हो ।

“अहिले ६० वर्ष कटेका ५४ जना प्रेसर र सुगरका विरामी भेटिनुभएको छ । उहाँहरुमध्ये ७ जना दुवै समस्याबाट ग्रसित हुनुहुँदो रहेछ”, वडाध्यक्ष राईले भन्नुभयो, “कतिपयले औषधि खाने गर्नुभएको रहेछ भने रोग लागेको भएपनि कतिपयले औषधि सेवन नगरेको पायौं ।”

वडाले निःशुल्क औषधि वितरण गरेपछि भने सबैले औषधि सेवन गर्न थालेको वडाध्यक्ष राईको भनाई छ । वडाको बजेटबाट याङवरक गाउँपालिकाको स्वास्थ्य शाखाले औषधि खरिद गरी स्वास्थ्य चौकी ओयाममार्फत वितरण थालेको छ ।

“विरामीहरुले सेवन गर्ने गरेका प्रेसर र सुगरका २३ प्रकारका औषधि खरिद गरी वितरण गरेका छौं”, राईले भन्नुभयो, “त्रैमासिक रुपमा औषधि वितरण गर्ने योजना बनाएका छौं ।” हालसम्म ६ महिनाको औषधि वितरण भइसकेको उहाँले जानकारी दिनुभयो ।

विनियोजित रु. ४ लाख बजेटले एक वर्ष औषधि खरिद गर्न पुग्ने देखिएको वडाध्यक्ष राईले वताउनुभयो । बोलपत्रमार्फत करीब रु. १ लाख ५० हजारमा ६ महिनाको औषधि खरिद गरिएको छ । तर ६० वर्ष नपुगेका धेरै वडाबासीमा समेत उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको छ ।

“६० वर्ष नपुगे पनि रोगले सताएकाले औषधि दिनुपर्छ भनेर धेरैले माग गर्ने गर्नुभएको छ । कसरी सम्बोधन गर्ने भनेर सोचिरहेका छौं”, वडाध्यक्ष राईले भन्नुभयो । यस्तै भ्याक्सिनमार्फत मधुमेहको उपचार गर्ने केही विरामी भेटिएको र उनीहरुको औषधि खरिदमा ठूलो खर्च लाग्ने देखिएको वडाध्यक्ष राईले वताउनुभयो ।

आधारभूत स्वास्थ्य केन्द्र गोपेटारका डा. दुर्गा न्यौपानेले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । स्वास्थ्य परीक्षणपश्चात जेष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्ने कार्यक्रम याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)को प्रमुख आतिथ्यता तथा उपाध्यक्ष बाबा मेन्याङ्बो, प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।