Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा काँग्रेसले टुङ्ग्यायो गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वार, फिदिममा बाँकी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा काँग्रेसले टुङ्ग्यायो गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वार, फिदिममा बाँकी

चिन्तन खबर

फिदिम । पाँचथरमा नेपाली काँग्रेसले छ वटा गाउँपालिकाको अध्यक्ष तथा एक गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार टुङ्ग्याएको छ ।

सत्तारुढ दलहरुको गठबन्धनअनुसार काँग्रेसले आफ्नो भागमा परेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको नाम टुङ्ग्याएको काँग्रेस पाँचथरका सहसचिव गजेन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार काँग्रेसले फालेलुङ गाउँपालिकाको अध्यक्षमा वीरविक्रम थाम्सुहाङलाई उम्मेद्वार बनाएको छ । थाम्सुहाङ काँग्रेस फालेलुङका सभापति एवं हाल फालेलुङ–३ का वडाध्यक्ष हुनुहुन्छ ।

यस्तै काँग्रेसले जिल्ला कार्यसमिति सदस्य समेत रहनुभएका याङवरक–३ का वडाध्यक्ष मविन्द्र योङ्यालाई याङवरक गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनाएको छ । काँग्रेसले हिलिहाङ गाउँपालिकाको अध्यक्षमा समरबहादुर अधिकारीलाई उम्मेद्वार बनाएको छ ।

सहसचिव राईका अनुसार फाल्गुनन्द गाउँपालिकाको अध्यक्षको उम्मेद्वार काँग्रेस पाँचथरका उपसभापति वृजहाङ आङदेम्बे बन्नुभएको छ । आङ्देम्बे गत उपनिर्वाचनमा पनि अध्यक्ष पदमा प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

जिल्लाको कुम्मायक गाउँपालिकाको अध्यक्षमा काँग्रेसले बमप्रसाद लावतीलाई उम्मेद्वार बनाएको छ । लावती काँग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँ यसअघि पनि अध्यक्ष पदमा प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

जिल्लाको तुम्बेवा गाउँपालिकामा काँग्रेसले बावुराम खड्कालाई अध्यक्षको उम्मेद्वार बनाएको छ । खड्का काँग्रेसको गाउँपालिका सभापति हुनुहुन्छ । यस्तै मिक्लाजुङ गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसले सन्तकुमार शेर्मालाई उम्मेद्वार बनाएको छ । काँग्रेस मिक्लाजुङका सभापति शेर्मा हाल मिक्लाजुङ–२ को वडाध्यक्ष हुनुहुन्छ ।

काँग्रेसले फिदिम नगरपालिकाको प्रमुखका लागि जिल्ला कार्यसमितिमार्फत प्रदेशमा नाम सिफारिस गरेको छ । नगर प्रमुखको उम्मेद्वार समेत आजै टुङ्गिने काँग्रेस पाँचथरका सहसचिव राईले जानकारी दिनुभयो ।

सत्तारुढ दलहरुवीच पाँचथरमा चुनावी गठबन्धन बनेको छ । जसअनुसार आठ स्थानीय तहमध्ये फिदिम नगरको प्रमुख सहित काँग्रेसले छ गाउँपालिकाको अध्यक्ष पाएको छ । नेकपा (माओवादी केन्द्र)ले मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष सहित चार गाउँपालिका उपाध्यक्ष र एक नगर प्रमुख पाएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनबाट जिल्लाको हिलिहाङ र कुम्मायक गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार पाएको छ ।

गठबन्धन भएपनि स्थानीय स्तरमा भने काँग्रेस कार्यकर्ताहरुले तीब्र असन्तुष्टि ब्यक्त गरिरहेका छन् । काँग्रेस फिदिम नगर कार्यसमितिले एक्लै निर्वाचनमा जाने बहुमतले निर्णय गरेको नगर सभापति प्रकाश गुरुङले जानकारी दिनुभयो ।

पाँचथरमा नेकपा (एमाले)ले उम्मेद्वार आजै टुङ्ग्याउन लागेको छ । एमालेले जनता समाजवादी पार्टी, राप्रपा र राप्रपा नेपालसँग चुनावी तालमेलको प्रयास जारी राखेको छ ।