काठमाडौं । चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्ता पक्षधरहरुले विथोल्न खोजेको एमाले निकट अनेरास्ववियुले आरोप लगाएको छ । स्ववियु निर्वाचनको लागि अखिलको प्रतिबद्धतापत्र सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष समिक बडालले निर्वाचन बिथोल्ने गतिविधि सैह्य नहुने अखिलको चेतावनीसमेत दिएका छन् ।
उनले भने– ‘विभिन्न क्याम्पसमा अखिल आबद्ध विद्यार्थीहरूमाथि सत्तापक्षका विद्यार्थीहरूले सांघातिक आक्रमण गर्दा कारवाही भएको छैन । सत्ताको दुरुपयोग हुन थालेको छ । हार्ने भएपछि तालाबन्दी गरिएको छ । विद्यार्थीको सुरक्षा र भयरहित वातावरणमा मतदानको व्यवस्था गर्न अनुरोध गर्दछौं ।’
उक्त गतिविधिलाई सुरक्षा निकायको ध्यानाकर्षण गराउदै उनले भने–‘ अखिलले अधिकांश क्याम्पसका उम्मेदवार सर्वसम्मत चयन गरिसकेको र कुनै पनि बहानामा निर्वाचन बिथोल्ने गतिविधि सैह्य हुदैन ।’
सम्मेलनमा अखिलले तालाबन्दी, तोडफोडजस्ता कुनैपनि गतिविधि आफ्नो संगठनका तर्फबाट नहुने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया