पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अधुरो छात्रावास भवन तीन वर्षदेखि अलपत्र

चिन्तन खबर

फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ मेहेलबोटेस्थित जयनारायण आदर्श माध्यमिक विद्यालयको प्राविधिक छात्रावास तीन वर्षदेखि अलपत्र बनेको छ । निर्माण पूरा नभएको छात्रावासको स्वामित्व कसैले नलिँदा भवन अलपत्र बनेको हो ।

उक्त विद्यालयमा सञ्चालित प्राविधिक शिक्षाका विद्यार्थीको बसोबास तथा ब्यवसाय सञ्चालनमार्फत विद्यालयको आम्दानी वृद्धिका लागि प्रदेश सरकारले रु. ८५ लाखको लागतमा छात्रावास निर्माण कार्य थालेको थियो । उपभोक्ता समितिमार्फत सञ्चालित निर्माण कार्य न त उद्देश्यअनुसार हुन सक्यो, न निर्माण कार्य नै पूरा भयो ।

जयनारायण आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यका अनुसार विद्यालयको माथिल्लो भागमा रहेको उत्तर–यासोक सडकसँगै जोडेर भवन निर्माण गर्ने योजना बनाइएको थियो । सडकबाट सिधा पर्नेगरी माथिल्लो तलमा सटर निर्माण गर्ने तथा तल्लो तलामा छात्रावास सञ्चालन गर्ने योजनाअनुसार भवन निर्माण थालिएको थियो ।

सडकसँग जोडिएका विद्यालयका पुराना संरचना हटाई सोही स्थानमा नयाँ संरचना निर्माण गर्नुपर्ने भएपनि उपभोक्ता समितिले ती संरचनाभन्दा तल विद्यालयको खेलमैदानमा छात्रावास भवन निर्माण गरेको ग¥यो । तर निर्माण भएको भवन न छात्रावासका लागि प्रयोग गर्न उपयुक्त बनेको छ न त ब्यवसाय सञ्चालन हुनसक्ने अवस्था नै ।

छात्रावास बनाउने भनिएको ठाउँमा पुराना संरचना यथावत छन् भने भवन खेलमैदानको वीचमा बनेको छ । अझ निर्माण कार्य समेत नसकिँदै उपभोक्ता समितिले बजेट सकिएको भनेर काम छोडेपछि भवन अलपत्र बनेको हो ।

निर्माण भइरहेको भवन पूरा नहुँदै २०७६ कात्तिक ७ गते कोशी प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोबाट उद्घाटन समेत भयो । तर उद्घाटनपछि न भवनको पूर्णतामा कसैको ध्यान गएको छ न त प्रयोगमै ।

कमजोर गुणस्तर र लागतअनुसार उपयोग हुन नसक्ने भएपछि भवनको स्वामित्व लिन विद्यालय तयार नहुँदा तीन वर्षदेखि उक्त भवन अलपत्र बनेको हो । “निर्माण कार्यलाई प्राविधिक स्टिमेटअनुसार पूरा गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्दै आएका छौं । तर कतैबाट बजेटको ब्यवस्था भएको छैन्”, प्रअ आचार्यले भन्नुभयो ।

प्राविधिक धारको १८ महिने सिभिल सव–ओभरसियरको कक्षा अध्यापन हुने यस विद्यालयमा टाढाका विद्यार्थीको बसोबासका लागि निर्माण गरिएको छात्रावासमा शौचालय, भान्साघर लगायत अत्यावाश्यक संरचना बनेका छैनन् । विद्युतको वायरिङ भएको छैन् भने माथिल्लो तलासम्म जाने भ¥याङ समेत निर्माण नभएको प्रधानाध्यापक आचार्यले वताउनुभयो । काठको झ्यालढोका लगाइएको भवनमा न रेलिङ लगाइएको छ न त भेन्टिलेसनकै ब्यवस्था गरिएको छ ।

भवन निर्माण कार्यको गुणस्तर कमजोर हुनुका साथै प्रभावकारी अनुगमन समेत हुन सकेको थिएन । प्रदेश सरकारका ब्यवस्थित संरचना नहुँदा तत्कालीन स्वास्थ्य कार्यालयमार्फत एक प्राविधिकले निर्माणको अनुगमन गरी उपभोक्ता समितिलाई रकम निकासा दिइएको थियो । निर्माणले पूर्णता नपाएको भवन हतारोमा उद्घाटन गरेर अलपत्र पारिएको भन्दै मेहेलबोटेका स्थानीयवासी भने आक्रोशित छन् ।

उपभोक्ता समितिले लागतको २० प्रतिशत श्रमदान जुटाउनु पर्ने भएपनि जुटाउन नसक्दा लागतले नपुगेको भनेर छोडिदिएको प्रअ आचार्य वताउनुहुन्छ । “कमजोर गुणस्तरका कारण पानी चुहिने अवस्था छ”, उहाँले भन्नुभयो, “यत्रो ठूलो लगानीको संरचना ब्यवस्थित गर्न फाल्गुनन्द गाउँपालिका र प्रदेश सरकारले ध्यान दिनुपर्ने हो ।” उहाँका अनुसार छात्रावास जिम्मा दिइएको छैन् र जिम्मा लिनु भनेर आग्रह समेत भएको छैन् ।

“उपभोक्ता समितिले निर्माण गरेको संरचना हो । अव कसले जिम्मा दिने भन्ने स्पष्ट छैन्”, प्रअ आचार्यले भन्नुभयो, “जिम्मा लिएपनि कमजोर संरचना भएकाले यो भवनलाई उपयोगमा ल्याउन कठिन छ ।” यता उपयुक्त बसोबासको ब्यवस्था नहुँदा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको सङ्ख्या वर्षेनि घट्दै गएको छ । यस विद्यालयमा २०६९ सालबाट सिभिल सव–ओभरसियरको कक्षा सञ्चालन भइरहेको छ ।