पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायक गोल्डकपः उपाधिका लागि याङवरक र फाल्गुनन्द भिड्दै

चिन्तन खबर

फिदिम । कुम्मायक गाउँपालिकाको यासोकमा जारी चौथो कुम्मायक गोल्डकप पालिकास्तरीय फुटवल प्रतियोगिताको उपाधिका लागि याङवरक गाउँपालिका र फाल्गुनन्द गाउँपालिकावीच प्रतिस्पर्धा हुने भएको छ ।

हिँजो सम्पन्न अन्तिम सेमीफाइनलमा मिक्लाजुङलाई पराजित गर्दै याङवरक फाइनलमा प्रवेश गरेसँगै दुई टिमवीच उपाधिका लागि प्रतिस्पर्धा तय भएको हो । यसअघि कुम्मायक गाउँपालिकालाई पराजित गर्दै फाल्गुनन्द फाइनल पुगिसकेको छ ।

आज हुने फाइनल खेलको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार सहित तीन वर्षे रनिङ ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिनुभयो । यस्तै उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । आयोजक विधागत रुपमा समेत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्ने भएको छ ।

मंगलबार भएको सेमीफाइनलमा याङवरकले मिक्लाजुङमाथि रोमाञ्चक जित निकाल्यो । खेलको पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेनन् । तर दोस्रो हाफको सुरुआतबाटै याङवरकले लय समात्यो । याङवरकका लागि सुमन योङयाले २ र जमिन लिम्बूले १ गोल गर्दै टिमलाई अग्रता दिलाए ।

तर दबावमा परेको मिक्लाजुङले आक्रामक पुनरागमन जनाउँदै खेललाई बराबरीमा ल्यायो । मिक्लाजुङका तर्फबाट दिपेश बर्देवाले २ र दिपेन आङदेम्बेले १ गोल गरी खेललाई ३–३ को बराबरीमा ल्याए । निर्धारित समय बराबरीमा खेलेका दुबै टिमले १५ मिनेटको अतिरिक्त समय थप गोल गर्न सकेनन् ।

खेल बराबरी भएपछि ट्राइब्रेकरमार्फत निर्णय लिइएको थियो । ट्राइब्रेकरमा मिक्लाजुङमाथि ६–५ रोमाञ्चक जित निकालेपछि याङवरकको फाइनल यात्रा सुरक्षित भएको हो । उक्त म्याचको उत्कृष्ट खेलाडी याङवरकका कप्तान सुमन योङ्या घोषित भए । उनलाई यासोक क्याम्पसका क्याम्पस प्रमुख तिलबहादुर खवासले पुरस्कार प्रदान गर्नुभयो ।

यसअघि सोमवार भएको खेलमा घरेलु मैदानमा कुम्मायकलाई १–० गोलअन्तरको कठिन जित निकाल्दै फाल्गुनन्द फाइनलमा पुगिसकेको छ ।