काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूविरुद्धको फौजदारी मुद्दामा आत्मसमर्पण गर्न न्यूयोर्क पुगेका छन्। म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालयमा आत्मसमर्पण गर्न ट्रम्प आफ्नो निजी जेट विमान चढेर फ्लोरिडाबाट न्यूयोर्क पुगेका हुन्।
ट्रम्पले मंगलबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा आत्मसमर्पण गरे लगत्तै पहिलो सुनुवाइका लागि म्यानहटन फौजदारी अदालतमा न्यायाधीश समक्ष प्रस्तुत गरिने रोयटर्सले जनाएको छ।
न्यायाधीश समक्ष प्रस्तुत गरिनु अघि अदालतमा ट्रम्पको औँठाछाप लिइनुका साथै फोटो खिचिने छ। ट्रम्पलाई हथकडी भने लगाइने छैन। उनका समर्थकले गर्न सक्ने सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै न्यूयोर्कमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
ट्रम्पविरुद्धको अभियोगपत्र सार्वजनिक नगरिए पनि उनीमाथि व्यवसायिक धोखाधडीसँग सम्बन्धित ३० भन्दा बढी अभियोग लगाइएको सीएनएनले जनाएको छ। आफूसँगको अनुचित सम्बन्ध सार्वजनिक नगर्न पूर्वपोर्न स्टार स्टोर्मी ड्यानियल्सलाई कानुन व्यवसायीमार्फत १ लाख ३० हजार डलर दिएको प्रमुख अभियोग छ। रकम दिनु गैरकानुनी नभए पनि अर्कै शीर्षक देखाएर दिनु गैरकानुनी भएको जनाइएको छ।
आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा पुनः प्रतिष्पर्धा गर्ने घोषणा गरिसकेका ७६ वर्षीय ट्रम्प फौजदारी अभियोग लाग्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्। ट्रम्पले आफूविरुद्धका आरोप असत्य भएको भन्दै यसलाई राजनीतिक उत्पीडन र निर्वाचनमा गरिएको इतिहासकै उच्चतम् हस्तक्षेप भनेका छन्।
प्रतिक्रिया