फिदिम । भान्साघरमा लागेको आगो सल्किएर जल्दा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक महिलाको ज्यान गएको छ ।
मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँका गोबिन्द राईकी श्रीमती ५५ वर्षीया सरिता राईको आज विहान भएको आगलागीमा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार आज विहान ७ः३० बजे राईको भान्साघरमा आलगागी भएको थियो ।
काठको बेरा र फुसको छानो भएको भान्साघरमा लागेको आगोले छानो सल्किएको थियो । आगो लागिरहेको छानो झरेर लाग्दा भान्साघरमा रहेकी सरिताको जलेर मृत्यु भएको हो ।
आगलागीमा राईको भान्साघर जलेर पूर्ण रुपमा नष्ट भएको छ । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । आगलागीको कारण पत्ता लागिनसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया