फिदिम । राष्ट्रिय युवा संघले बाढी पहिराका कारण क्षतिग्रस्त सिंचाई कुलो निर्माणमा फालेलुङ गाउँपालिका–३ वासीलाई सहयोग गरेको छ ।
गत असार २ गते आएको बाढी पहिराले फालेलुङ–३ को खेवाथाम–नाम्लुवा–लुम्बिदाङ–मच्छेबुङ सिंचाई कुलोमा क्षति पु¥याएको थियो । सो कुलो क्षतिग्रस्त हुँदा सयौं रोपनी खेतीमा असर परेपछि स्थानीयवासी मर्मतमा जुटेका थिए । मर्मतमा जुटेका स्थानीयवासीलाई राष्ट्रिय युवा संघ पाँचथरका पूर्व सचिव देवेन्द्र राईको अगुवाईमा दक्षिण कोरियामा सङ्कलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको हो ।
राईको अगुवाईमा सङ्कलित रु. ५० हजार रकम विहीवार राष्ट्रिय युवा संघ पाँचथरको आयोजनामा सरखण्डे भञ्ज्याङमा आयोजित कार्यक्रममा सिंचाई कुलोका उपभोक्तालाई हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य गणेश योङहाङले जानकारी दिनुभयो ।
कार्यक्रम नेकपा (एमाले) कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीको प्रमुख आतिथ्यता, एमाले पाँचथरका सचिव विष्णुप्रसाद सापकोटा, उपसचिव पृथ्वी लावती, कार्यालय सचिव तुलसी थापा, सचिवालय सदस्य जयप्रकाश केरुङ, युवा संघका केन्द्रीय सदस्य गणेश योङहाङ, एमाले फिदिम नगर अध्यक्ष जलकुमार तामाङ, फालेलुङ सचिव पुष्प तिम्सिना, राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष मदन लावती, सहसचिव सुजन तुम्बापो लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
सिंचाई कुलो निर्माणमा खटिएका स्थानीयवासीले उक्त सहयोगले योजना मर्मतमा सहयोग मिल्ने भन्दै युवा संघ र सहयोगी दाताहरुलाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया