पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज महागुरु फाल्गुनन्दको १३९औं जन्म जयन्ती मनाइँदै

चिन्तन खबर

काठमाडौं । आज किराँत धर्मावलम्बीका महागुरु तथा १६ औं राष्ट्रिय विभुति फाल्गुनन्दको १३९ औँ जन्म जयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।

किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन २००५ सालमा भएको हो । किराँत समाज सुधारमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।

पाँचथरमा फाल्गुनन्दको जन्म जयन्तीको अवसरमा सिटौटिमा विभिद कार्यक्रमको आयोजना गरी मनाइदै छ । महागुरुको समाधि स्थलसमेत रहेको यहाँ उहाँको जन्म जयन्तिको अवसरमा एक सातादेखि मेला लागिरहेको छ । उक्त अवसरमा विभिन्न खेलकुदको आयोजना गरिएको छ ।