Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
थुवतेन साङङाग छ्योलिङ गुम्बाको प्राण प्रतिष्ठा र समुद्घाटन सम्पन्न « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

थुवतेन साङङाग छ्योलिङ गुम्बाको प्राण प्रतिष्ठा र समुद्घाटन सम्पन्न

चिन्तन खबर

फिदिम । पाँचथरको सुदूरपूर्वी याङवरक गाउँपालिका–१ च्याङथापूमा स्थापित थुवतेन साङङाग छ्योलिङ गुम्बाको प्राण प्रतिष्ठा र समुद्घाटन सम्पन्न भएको छ ।

याङवरक गाउँपालिका वडा नं. १ र २ मा बसोबास गर्ने गुरुङ समुदायको पहलमा २०७५ सालबाट निर्माण थालनी भएको गुम्बाको आइतवार प्राण प्रतिष्ठा पूजा सम्पन्न गरी मंगल समुद्घाटन सम्पन्न भएको हो । गुम्बाको लामा दोर्जे लोपेन उर्गेन छोसाङ (लुप्ती गुरुङ)द्वारा दीप प्रज्ज्वलन र प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्बाङद्वारा रिबन काटेर उद्घाटन गरिएको हो । पर्यटकीय क्षेत्र च्याङथापूमा धार्मिक पर्यटन विकास, सामाजिक सद्भाव अभिवृद्धि तथा भगवान गौतम वुद्धको शान्तिको मार्गबारे प्रचार गर्ने उद्देश्यसहित गुम्बा स्थापना गरिएको गुम्बा ब्यवस्थापन समितिका संस्थापक सचिव नरबहादुर गुरुङले जानकारी दिनुभयो ।

गुम्बाको प्राण प्रतिष्ठा (रब्ने) तथा समुद्घाटनका अवसरमा तीन दिनसम्म यहाँ धार्मिक अनुष्ठान सम्पन्न भएको थियो । समुद्घाटन मूल समारोह समितिका सचिव लक्ष्मीप्रसाद गुरुङका अनुसार आइतवार गुम्बामा प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न भएको थियो भने सोमबार सिञ्जुप उपबास सम्पन्न भएको थियो । मंगलबार गणचक्र (गुरु रिम्पोचे) पूजा, च्याङथापू बजारमा मंगल धुनसहितको शान्ति पदयात्रा, गुम्बाको औपचारिक उद्घाटन कार्यक्रम, छेवाङ पूजा र टसी पूजा सम्पन्न भएको थियो ।

यस्तै गुरु लामा दोर्जे लोपेन उर्गेन छोसाङबाट अभिषेक र प्रसाद वितरणको कार्य समेत मंगलबार सम्पन्न भएको सचिव गुरुङले जानकारी दिनुभयो । उक्त अनुष्ठानमा पाँचथर र छिमेकी जिल्लाहरुबाट सयौंको सङ्ख्यामा वौद्ध धर्मावलम्बीहरु, याङवरक गाउँपालिका तथा सिदिङ्वा गाउँपालिका ताप्लेजुङबाट सयौंको सङ्ख्यामा स्थानीयवासीहरु सहभागी भएका थिए ।

गुम्बा निर्माणका हालसम्म रु. ७५ लाखभन्दा बढी रकम खर्च भइसकेको मूल समारोह समितिका सचिव लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो । सोही स्थान घर भई हाल सुनसरीको धरानमा बसोबास गर्दै आउनुभएका हरिबहादुर गुरुङ र मनमाया गुरुङले २ रोपनी ४ आना जग्गा उपब्ध गराएपछि गुम्बा निर्माणको थालनी भएको थियो ।

गुम्बा निर्माणमा प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङको निर्वाचन क्षेत्र विकास कार्यक्रम, कोशी प्रदेश सरकार, याङवरक गाउँपालिका लगायतका निकायबाट रु. ४४ लाख बजेट प्राप्त भएको गुम्बा ब्यवस्थापन समितिले जनाएको छ । यस्तै देश विदेशबाट हालसम्म रु. ३० लाखभन्दा बढी चन्दा सङ्कलन भएको मूल समारोह समितिका सचिव गुरुङले जानकारी दिनुभयो । कतिपय चन्दादाताले रकम उल्लेख नगर्ने गरी सहयोग गरेकाले सोभन्दा बढी चन्दा सङ्कलन भएको उहाँको भनाई छ ।

गुम्बाको प्राण प्रतिष्ठा तथा समुद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्बाङ, संविधान सभाका सदस्य अइन्द्रसुन्दर नेम्बाङ, जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बे, नेकपा (एमाले) कोशी प्रदेशका सचिव राजकुमार भण्डारी, याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बो, याङवरक–४ का वडाध्यक्ष सबिन माबो लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

गुम्बा स्थापनाले यहाँ धार्मिक पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको प्रतिनिधि सभा सदस्य नेम्बाङको भनाई छ । उहाँले सो गुम्बाको घेराबारा तथा अन्य पूर्वाधार निर्माणमा समेत आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । पाँचथरको पुरानो बजार च्याङथापू पुष्पलाल (मध्यपहाडी) राजमार्ग उद्गमपछिको पहिलो बजार समेत हो ।

गुम्बाको स्थापनापछि नियमित पूजापाठ हुने ब्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा जग्गादाता हरिबहादुर गुरुङ र मूर्तिदाताहरु सरस्वता गुरुङ, रुपमाया गुरुङ, पद्मा गुरुङ र निलम गुरुङलाई सम्मान गरिएको थियो । यस्तै गुम्बा निर्माणका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट बजेट विनियोजन गरी महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङलाई निर्माण समितिले अभिनन्दन समेत गरेको थियो ।

गुम्बामा गौतम वुद्धका तीन वटा ठूला मूर्ति स्थापित छन् । जसमध्ये एउटा अमिता वुद्धको मूर्ति समेत रहेको मूल समारोह समितिका सचिव लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो ।