दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एमाले) सरकारमा हुँदा स्थानीय तह सञ्चालन गर्न सफल भएका नमूना कामलाई लिएर जनतामा जान कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेकपा एमाले घोराही उपमहानगर कमिटीले शुक्रबार घोराहीमा आयोजना गरेको चुनावी प्रशिक्षण कार्यक्रममा उहाँले विकास, राष्ट्रियता, स्वाधीनता र समृद्धिको रक्षा गर्ने पक्षमा गठबन्धन नदेखिएको भन्दै उनीहरूलाई जनमत प्राप्त गर्ने अधिकारसमेत नभएको बताउनुभयो ।
स्थानीय तहको निर्वाचन विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने भन्दै उहाँले एमालेको एउटै उद्देश्य देश बनाउने र त्यसका लागि चुनावमा विजयी हासिल गर्ने भएको बताउनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार नरुलाल चौधरीले विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएकाले अपूरा कामलाई पूरा गर्नका लागि पूनः निर्वाचनमा आएको बताउनुभयो । घोराहीमा पाँच वर्षे कार्यकालमा नमूना काम गरेको र अब नागरिकलाई आर्थिकरूपमा सम्पन्न गर्ने योजनाका साथ आएको उहाँको भनाइ थियो ।
प्रतिक्रिया